भारतका विकेटकिपर ब्याट्सम्यान केएस भरतले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व विकेटकिपर ब्याट्सम्यान केएस भरतलले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।

काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत ३२ वर्षीय भरतलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । आगामी सिजनका लागि भरत गोर्खाजले सार्वजनिक गरेको पहिलो खेलाडीसमेत बनेका छन् ।

विकेटकिपरका साथै माथिल्लो क्रममा ब्याटिङ गर्ने भरतले भारतबाट सात टेस्ट खेलेका छन् । उनले सन् २०२३ फेब्रुअरीमा नागपुरमा अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

भारतका लागि खेलेका सातमध्ये पाँच टेस्ट भरतले अस्ट्रेलियाविरुद्ध खेलेका थिए । उनले सात टेस्टमा २ सय २१ रन बनाएका थिए । उनको करिअरमा सन् २०२३ जुनमा इंग्ल्यान्डको द ओभलमा भएको अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनल पनि समावेश छ ।

भरतले गत जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । यस्तै उनले चर्चित इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिट्लसबाट खेलेका छन् । १० खेल खेलेका उनले एक अर्धसतकसहित १ सय ९९ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *