भट्टराईविरुद्ध फैलाइएका भ्रामक सामग्रीमाथि निगरानी गर्न सरकारसँग सचिवालयको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्न पुराना अभिव्यक्ति तोडमरोड गरी सामाजिक सञ्जालमा प्रचार भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

सोमबार बिहान विज्ञप्ति जारी गरी सचिवालयले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्न धार्मिक आस्थालाई प्रयोग गर्दै भट्टराईविरुद्ध भ्रामक सामग्री प्रचार गरिरहेको भन्दै आपत्ति जनाएको हो ।

सचिवालयले धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पारेको छ। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा नागरिकलाई धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको भन्दै यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित हुने सचिवालयको भनाइ छ।

हिन्दू धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद र सामाजिक असमानताबारे प्रश्न उठाउनु तथा सुधारका पक्षमा बहस गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *