प्रज्जवल थापा । नेपाली राष्ट्रिय महिला फूटबल टोलीका चार खेलाडी पाकिस्तानी लिग खेल्न आज पाकिस्तान प्रस्थान गर्दैछन् । चारै खेलाडी आज बेलुकी ७:१५ बजे पाकिस्तानको लागि उड्ने कार्यक्रम रहेको छ । उनीहरु दुबई हुँदै कराँची पुग्नेछन् ।
खेलाडीहरु बिहीबार नै जाने भनिएपनि भिषा प्रक्रिया ढिलाई हुँदा शुक्रबारको लागि धकेलिएको हो । पाकिस्तान फूटबल फेरेडेसनले आयोजना गर्ने लिगमा नेपालका चारै खेलाडीले मासा युनाइटेडबाट खेल्नेछन् । भखरै सम्म्पन राष्ट्रिय महिला लिगमा एपिएफलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका गोलरक्षक एन्जिला सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर शरु लिम्बू र फर्वार्ड अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फूटबल च्याम्पियनसिप’ खेल्न लागेका हुन् ।
उनीहरुलाई अखिल नेपाल फूटबल संघ(एन्फा)ले बिहीबार नै बिदाइ गरिसकेको छ । पहिलो पटक विदेशमा खेल्न जान पाउँदा आफुहरु खुशी रहेको अनिता केसीले नेपाल समाजलाई बताइन् । “हामीसबै जना पहिलो पटक विदेशी लिगमा खेल्न जान पाउँदा खुशी छौ” अनिताले भनिन्, “पाएको अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधी जिताउने प्रयास गर्नेछौ ।”
यहि मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगमा २० टोलीको सहभागिता रहनेछ । नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड समूह ‘बी’ मा रहेको छ । लिगको विजेताले पाकिस्तानी १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले पाकिस्तानी ७ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
तस्बिर:- एन्फा
