आर्मेनियाली पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा दुई महिना हिरासतमा राख्न आदेश

येरेभान । आर्मेनियाली अदालतले पूर्वराष्ट्रपति रोबर्ट कोचार्यानलाई भ्रष्टाचार आरोपमा दुई महिनाका लागि हिरासतमा राख्ने आदेश दिएको अधिकारीहरूले जनाएका छन् । उनको दलले यसलाई सरकारको ‘तानाशाही’ कदम भनेको छ ।
कोचार्यान सन् १९९८ देखि सन् २००८ सम्म आर्मेनियाका राष्ट्रपति थिए । हाल आर्मेनिया एलायन्सका नेता ७१ वर्षीय कोचार्यान संसदमा दोस्रो ठूलो विपक्षी दलको नेता हुन् । उनी पश्चिम समर्थक प्रधानमन्त्री निकोल पाशिन्यानका प्रमुख आलोचक हुन् ।

उनी जेठा छोरासहित मङ्गलबार पक्राउ परेका थिए । त्यसको एक दिनअघि उनका कान्छा छोरा लेभोन कोचार्यानले संसदमा पाशिन्यानसँग ‘आत्र्साख’बारे विवाद गरेका थिए । आत्र्साख अजरबैजानमा आर्मेनियाली जनसंख्या भएको स्वघोषित राज्य थियो, जुन २०२३ मा अजरबैजानी सेनाको आक्रमणपछि ढलेको थियो।

“सार्वजनिक हितलाई ध्यानमा राख्दै, भ्रष्टाचारविरोधी अदालतले अनुसन्धानकर्ताको प्रस्ताव पूर्ण रूपमा स्वीकार गर्यो र आर.के. (रोबर्ट कोचार्यान) लाई निवारक उपायका रूपमा थुनामा राख्यो,” आर्मेनियाको भ्रष्टाचारविरोधी समितिका प्रवक्ताले भने ।

आर्मेनिया एलायन्सले यो पक्राउलाई ‘तानाशाही’ कदम भनी निन्दा गरेको छ ।“पूर्व राष्ट्रपति कोचार्यान यस साता पक्राउ परेपछि बिरामी पर्नुभएको भन्दै अदालती सुनुवाइमा उपस्थित हुनुभएको थिएन,” लेभोनले भने ।

सन् २०१८ मा पाशिन्यान सत्तामा आएदेखि कोचार्यानलाई संवैधानिक व्यवस्था कमजोर पारेको आरोपमा तीन पटक पक्राउ गरिसकिएको छ ।

पछिल्लो आरोप कोचार्यानले पदमा रहँदा सार्वजनिक जग्गा खरिद–बिक्री गरी व्यक्तिगत फाइदा लिएको आरोपमा आधारित छ। उनका प्रतिनिधिहरूले यसलाई उनी र उनको परिवारमाथिको ‘आक्रमण’ भनेका छन्।

पाशिन्यानको पश्चिम समर्थक दल जुन महिनामा पुनः निर्वाचित भएको थियो । पाशिन्यानमाथि विपक्षीहरूले लोकतान्त्रिक पछौटेपनको आरोप लगाएका छन्, जसलाई उनले अस्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *