रियाद । यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी समूहका लडाकु र सैन्य क्षमताहरूलाई लक्षित गरी कारबाही गरिएको जानकारी दिएका हुन् ।
हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त यमनको अन्तरराष्ट्रिय मान्यताप्राप्त सरकारबीच जुलाईमा पुनः चर्किएको द्वन्द्व त्यसयता साउदी अरबसम्म फैलिएको छ ।
हुथीहरूको अल–मसिराह टेलिभिजन च्यानलले साउदी क्षेप्यास्त्रले उत्तरपश्चिमी यमनको सादा प्रान्तका विभिन्न क्षेत्रलाई निसाना बनाएको जनाएको छ ।
लालसागरको तटीय क्षेत्रको ठूलो भू–भाग नियन्त्रणमा राख्दै आएका हुथी विद्रोहीले साउदी अरबका यातायात केन्द्र, तेलसम्बन्धी पूर्वाधार तथा अन्य नागरिक संरचनामा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गर्दै आएका छन् ।
साउदी अधिकारीका अनुसार बिहीबार रियाद अन्तरराष्ट्रिय विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । हुथीहरूले पनि सोही दिन विमानस्थलमा आक्रमण गरेको दाबी गरेका थिए ।
यसैबीच, हुथी सञ्चारमाध्यमका अनुसार यमनको हुथी–नियन्त्रित राजधानी सानास्थित विमानस्थलमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।
विश्वव्यापी जल यातायातका लागि महत्वपूर्ण मानिने बाब अल–मान्दब जलसन्धि आसपासका क्षेत्र पुनः नियन्त्रणमा लिने प्रयासमा साउदी नेतृत्वको गठबन्धन र यमनी सरकारी सेना जुटिरहेका छन् । तर, हुथी विद्रोहीको सैन्य प्रगतिलाई रोक्न तथा उनीहरूले कब्जा गरेका क्षेत्र फिर्ता लिन सरकारी पक्षलाई कठिनाइ भइरहेको छ ।
