नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ ।
कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको बताए । मङ्गलबार बिहान उडान भर्ने तयारीमा रहेका नलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए ।
दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडिनबर्ग विश्वविद्यालयले उनलाई ‘कक्रोच’ आन्दोलनबारे सम्बोधन गर्न आमन्त्रण गरेका थिए । उनले डिसेम्बर १ मा अक्सफोर्ड युनियन सोसाइटीमा सम्बोधन गर्ने कार्यक्रम थियो । भारतीय विद्यार्थीहरूले कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा सरकारले आफूलाई रोक्नु बौद्धिक विचारप्रति असहिष्णुताको सङ्केत भएको उनको आरोप छ ।
सन् २०२६ मेमा सुरु भएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा लाखौँ अनुयायी जुटाएको छ । जुलाईमा परीक्षामा भएको अनियमितताको विरोधमा पार्टीले आयोजना गरेको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको थियो । त्यसपछि शिक्षा मन्त्रीले राजीनामा दिएका थिए ।
मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा सुरक्षा कारबाही अवज्ञा गरेको आरोपमा दासलाई एक महिनाअघि हिरासतमा लिइएको थियो ।
मोदी सन् २०१४ मा सत्तामा आएपछि भारतमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बनेको आलोचकहरूको आरोप छ । यसै महिनाको सुरुमा विपक्षी काङ्ग्रेस पार्टीले आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा एक सयभन्दा बढी विदेशी वक्तालाई सहभागी हुन रोकिएको थियो । प्रतिबन्धमा पर्नेमा यसअघि मोदीसँग प्रेस स्वतन्त्रताबारे प्रश्न गर्नुभएका एक नर्वेली पत्रकार पनि हुनुहुन्थ्यो ।
यसअघि सन् २०२२ मा भारत प्रशासित काश्मीरकी पुरस्कार विजेता फोटोग्राफर सन्ना इरशाद मट्टुलाई पुलित्जर पुरस्कार ग्रहण गर्न अमेरिका जानबाट भारतीय अधिकारीहरूले रोकेका थिए ।
