युगाण्डा इबोला सङ्क्रमणमुक्त

नैरोबी । युगाण्डामा ४२ दिनसम्म कुनै नयाँ सङ्क्रमित नदेखिएपछि विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डालाई आधिकारिक रूपमा इबोला–मुक्त घोषणा गरेको छ ।

छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को पूर्वी भागका स्वास्थ्य सुविधाहरूमाथि प्रकोपले चाप पारेको अवस्थामा यसको फैलावट रोक्न युगाण्डाले गरेका प्रयासहरूको प्रशंसा गरिएको छ।

“युगाण्डाले अन्तिम पुष्टि भएको विरामी र सन् २०२६ जुलाई १६ मा डिस्चार्ज भएको आयातित इबोला सङ्क्रमणपछि ४२ दिन पूरा गरेको छ । उक्त सङ्क्रमणसँग सम्बन्धित कुनै निरन्तर सङ्क्रमणको फैलावट नदेखिएकाले प्रकोपको अन्त्य भएको मानिएको छ,” डब्ल्यूएचओले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ।

यसले सरकार, स्वास्थ्य कर्मचारी र उनीहरूका साझेदारहरूलाई ‘प्रकोप नियन्त्रण गर्न र व्यापक फैलावट रोक्न लिइएका कडा उपाय’ का लागि प्रशंसा गरेको छ ।

पूर्वी अफ्रिकी देश युगाण्डामा कुल २० इबोला सङ्क्रमित विरामी अस्पताल पुगेका थिए, जसमध्ये लगभग सबै डिआरसीबाट आएका व्यक्तिहरू थिए र दुई जनाको मृत्यु भएको थियो।

मे १५ मा प्रकोप घोषणा भएदेखि डिआरसीमा पाँच हजार ६०० भन्दा बढी सङ्क्रमण पुष्टि भएको र दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। यसलाई रोगको रेकर्डमा सबैभन्दा छिटो फैलने प्रकोप मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *