प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेड्रिको चिएसाले एक/एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको हो । दोस्रो हाफको ६२ औं मिनेटमा बेर्नार्डेस्कीको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । ७१ औं मिनेटमा चिएसाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
८९ औं मिनेटमा बेन्टाकरको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-० गोलको सहज जित दिलाए । खेलको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्न चुक्दा स्पेजियाले गोल दुरि घटाउने मौका चुकायो । जितसँगै युभेन्टस २४ खेलमा ४९ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।
