प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दैछन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
लिगको पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको रियल म्याड्रिडको आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । हाल म्याड्रिड २४ खेलमा ५२ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । चोटको कारण यसअघिका खेल गुमाएका रोड्रिगो, भाल्भेर्डे, मार्सेलो, ओर्डिजोला टोलीलाई फर्किएसँगै प्रशिक्षक जिदानलाई केहि राहत मिलेको छ ।
यता सोसिडाडपनि आजको खेल जित्दै चौथो स्थानको सेभिल्लासँग अङ्क दुरि घटाउन चाहन्छ । हाल सोसिडाड २१ खेलमा ४१ अङ्कको साथ लिगको पाँचौ स्थानमा रहेको छ । जुन चौथो स्थानको सेभिल्लाको भन्दा ७ अङ्क कम हो । सोसिसाड लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।
दुई टोलीबिच भएको पछिल्लो २२ खेलमा १६ खेल म्याड्रिडले जितेको छ भने ४ खेल सोसिडाडले आफ्नो पोल्टामा पारेको थियो ।
