फिलिप्स राष्ट्रिय महिला फूटबल टोलीको नँया प्रशिक्षक

प्रज्जवल थापा । अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्स नेपाली राष्ट्रिय महिला फूटबल टोलीको नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका छन् । बिहीबार अखिल नेपाल फूटबल संघ(एन्फा) ले महिला टोलीको मुख्य प्रशिक्षकको रुपमा फिलिप्सलाई नियुक्त गरेको जनाएको हो ।

सन् २०१९ देखि एन्फाको प्राविधिक निर्देशक(टेक्निकल डिरेक्टर)को रुपमा काम गरेका फिलिप्सलाई आजबाट एन्फाले नयाँ जिम्मेवारी सुम्पिएको हो । एन्फाको पाँच सदस्यीय प्राविधिक समितीले उनलाई प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्सले यसअघि मलेसिया, भियतनाम र फिलिपिन्सका क्लबहरुमा प्रशिक्षकको जिम्मेवारी समालिसकेका छन् । फिलिप्समा पपुवा न्युगिनीको महिला टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेको अनुभवपनि रहेको छ ।

गत वर्ष नेपालमै भएको १३ औं दशिण एशियाली खेलकुद(साग) मा उपविजेतामा सिमित भएपछि तत्कालीन प्रशिक्षक हरि खड्काले प्रशिक्षकको पदबाट राजीनामा दिएका थिए । त्यसयता महिला टोली प्रशिक्षक विहीन रहेको थियो । यस्तै एएफसी वुमेन्स एसियन कप च्याम्पियनसिप -२०२२ क्वालिफायरको लागि महिला टोलीले छिट्टै बन्द प्रशिक्षण शुरु गर्ने एन्फाले जनाएको छ । माघ ७ देखि फागुन ७ गतेसम्म भएको राष्ट्रिय महिला लिगमा गरेको प्रदर्शनको आधारमा बन्द प्रशिक्षणको लागि खेलाडी छनोट गरिनेछ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *