प्रज्जवल थापा । विभागीय टोली एपिएफले अपराजित रहँदै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । शुक्रबार दिउँसो भएको खेलमा प्रमुख खेलाडी सावित्रा भण्डारीबिना मैदान उत्रिएको एपिएफले त्रिभुवन आर्मी फूटबल क्लबलाई ३-० गोलले पराजित गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा एपिएफलाई जित दिलाउन शरु लिम्बुले दुई र अनिता केसिले एक गोल गरिन् । पहिलो हाफको अन्तिम समयमा अनिता केसिको पासमा शरु लिम्बुले गोल गर्दै एपिएफलाई खेलमा अगाडि बढाएकी थिइन् । ८६ औं मिनेटमा अन्जली योन्जनको पासमा अनिता केसिले हेडिङ गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् ।
९४ औं मिनेटमा विपक्षी गोलरक्षक अन्जना राना अगाडि बढेको अवस्थामा शरु लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३-० गोलको शानदार जित दिलाइन् । जितसँगै एपिएफले अपराजित रहँदै लिगको उपाधि जितेको छ । एपिएफले १२ खेलमा ३६ अङ्क जोड्यो । यससँगै एपिएफले लिग उपाधिमा ह्याट्रिक पनि गरेको छ । त्रिभुवन आर्मी क्लबले भने दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । आर्मीले १२ खेलमा २६ अङ्क जोडेको हो ।
उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ भने उपविजेतामा सीमित आर्मीले ८ लाखमा चित्त बुझायो । तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख रुपैयाँ प्राप्त गर्यो ।
