औबमियाङको ह्याट्रिकमा आर्सनलको शानदार जित

प्रज्जवल थापा । पिरे-एम्रिक औबमियाङले ह्याट्रिक गरेको खेलमा आर्सनलले शानदार जित निकालेको छ । आईतवार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स रगंशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन पिरे-एम्रिक औबमियाङले ह्याट्रिक पुरा गर्दा हेक्टर बेल्लेरिनले एक गोल थपे । लिड्सको लागि पास्कल स्ट्रुजक र हेल्ड्र कोस्टाले एक/एक गोल गरेपनि जितको लागि पर्याप्त भएन । खेलको १३ औं मिनेटमा जाकाको पासमा औबमियाङले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा औबमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा डानियल सेबाल्लोसको पासमा बेल्लेरिनले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अगाडि बढाएका थिए । ४७ औं मिनेटमा स्मिथ रोवेको पासमा औबमियाङले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरे । ५८ औं मिनेटमा राफिन्हाको पासमा पास्कलले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६९ औं मिनेटमा रोबेर्ट्सको पासमा कोस्टाले गोल गर्दै लिड्सलाई ४-२ गोलको स्थितीमा ल्याए ।

तर बाँकी समयमा थप गोल गर्न नसक्दा लिड्स ४-२ गोल अन्तरले पराजित हुन पुग्यो । जितसँगै आर्सनल २४ खेलमा ३४ अङ्क जोड्दै लिगको दसौं स्थानमा उक्लिएको छ । पराजित लिड्स २३ खेलमा ३२ अङ्कको साथ ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *