प्रज्जवल थापा । साविक विजेता लिभरपुुलमाथि लेस्चर सिटीले शानदार जित निकालेको छ । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुकी भएको खेलमा लेस्चरले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा लेस्चरलाई जित दिलाउन जेम्स मेड्डिसन, जेमी भार्डी र हार्भे बार्नेसले एक/एक गोल गरे । लिभरपुलको लागि मोहमद सलाहले एक गोल गरे । लेस्चरले ५ मिनेटको अन्तरालमा ३ गोल गरेको थियो । सबै गोल दोस्रो हाफमा भएको थियो ।
खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । ६७ औं मिनेटमा फर्मिन्होको पासमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा अगाडि बढाएका थिए । ७९ औं मिनेटमा मेड्डिसनले गोल गर्दै लेस्चर सिटीलाई बराबरीमा ल्याए । ८१ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्चर सिटीलाई खेलमा अग्रता दिलाए । ८५ औं मिनेटमा निदिको पासमा हार्भे बार्नेसले गोल गर्दै लेस्चर सिटीलाई ३-१ गोलको शानदार जित दिलाए ।
लिगमा यो लिभरपुलको लगातार तेस्रो हार हो । जितसँगै लेस्चर सिटी २४ खेलमा ४६ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २४ खेलमा ४० अङ्क जोड्दै चौथो स्थानमा रहेको छ ।
