प्रज्जवल थापा । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको नेपालले खेल्ने बाँकी खेलको मिति सार्वजनिक भएको छ । नेपालले छनोटको बाँकी रहेको तीन खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्ने भएको हो ।
एसियाली फूटबल महासंघले सार्वजनिक गरेको मिति अनुसार नेपालले मार्च २५ अर्थात चैत १२ गते चाइनिज ताइपेईसँग घरेलु मैदान दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले मार्च ३० मा अस्ट्रेलियासँग खेल्नेछ भने जुन ७ मा जोर्डनको सामना गर्नेछ ।
कोरोना भाइरसको महामारीको कारण गत मार्च र अप्रिलमा हुने भनिएको छनोट खेलहरु अक्टोबर नोभेम्बरसम्म स्थगित भएको थियो ।
समूह ‘बि’ मा रहेको नेपाल ५ खेलको समाप्तिमा एकमात्र जित निकाल्दै ३ अङ्कको साथ चौथो स्थानमा छ । नेपालले सेप्टेम्बरमा चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो । विश्वकप छ्नोटको खेललाई मध्यनजरमा राख्दै नोभेम्बरमा नेपाली टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल एक खेलमा पराजित हुँदा अर्को खेलमा बराबरी खेलेको थियो ।
विश्वकप छनोट खेलको तयारीको लागि नेपाली राष्ट्रिय फूटबल टोलीले मंसिर २७ गतेबाट बन्द प्रशिक्षण शुरु गर्दैछ । प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि एन्फाले बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षको रुपमा नियुक्त गरेको छ ।
