काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीस्वरूप नेपाली टेनिस टोली वैदेशिक प्रशिक्षणका लागि भारतको बैंगलुरु जाने भएको छ ।
तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोलीले बैंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछ । प्रशिक्षणका लागि जाने टोलीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट खेलाडीका रूपमा रहेका छन् भने रेणुदेवी कोण्डा प्रशिक्षक रहेकी छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
वैदेशिक प्रशिक्षणले एसियाली खेलकुदका लागि नेपाली खेलाडीको तयारी थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
