काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय समितिमा कुनै विषयमा उजुरी परेपछि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु नियमित संसदीय प्रक्रिया भएको बताए ।
प्रहरी संगठन र प्रहरी प्रमुखसँग आफ्नो व्यक्तिगत विवाद रहेको भन्दै केही सञ्चारमाध्यममा आएका विषयप्रति आपत्ति जनाउँदै सांसद सुनारले त्यसलाई दुई पक्षबीचको विवादका रूपमा प्रचार नगर्न आग्रह गरे ।
उनले रास्वपा अराजकता, बेथिति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थापना भएको दाबी गरे । राज्यका निकायमा देखिएका समस्या तथा अनियमिततामाथि प्रश्न उठाउनु सांसदको जिम्मेवारी भएको उनको भनाइ थियो ।
यसैबीच, बारामा भएको बालिका हत्याको घटनाप्रति पनि सांसद सुनारले गम्भीर चिन्ता व्यक्त गरे । उनले घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न राज्य गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।
