सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर । भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित ग्रामीण भेगका किसानलाई लक्षित गरी भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपालक किसान सहज रूपमा घरदैलोमा सेवा उपलब्ध गराउने लक्ष्यले शिविर सञ्चालन गरिएको हो ।

शिविरका अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा देवकुमार दर्लामी तथा गाउँपालिकाका डा रामकृष्ण पौडेलले किसानलाई पशु स्वास्थ्य, जैविक सुरक्षा र आधुनिक पशुपालनका व्यावहारिक विषयमा जानकारी गराएका हुन् । शिविरमार्फत गोबर परीक्षणसँगै नाम्ले, जुका, भिटामिनका साथै पछिल्लो समय महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगविरुद्धको औषधि निःशुल्क वितरण गरिएको छ ।

औषधिसँगै पशुमा लाग्ने सम्भावित सरुवा रोग, तिनका लक्षण र रोकथामका उपायबारे किसानलाई विशेषज्ञ परामर्शसमेत प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले दूरदराजका किसानलाई प्रत्यक्ष रूपमा सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । शिविरमार्फत एक हजार २७० पशुपन्छीलाई सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।

“दुर्गम भेगका नागरिकलाई सहज सेवा दिन शिविर सञ्चालन गरेका हौँ”, प्रमुख दाहालले भने, “व्यावसायिक पशुपालनमा संलग्न किसानलाई प्राविधिक सहयोग, परामर्श पुर्याउन शिविरले सहयोग पुगेको छ ।”

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँघरमै विशेषज्ञ सेवा पुग्दा किसानलाई सहयोग पुगेको बताइन् । गाउँपालिकाभित्र धेरै किसानले व्यावसायिक रूपमा गाईभैँसी, बङ्गुर र बाख्रापालन गरिरहेकाले शिविर निकै उपयोगी बनेको उनको भनाइ छ ।

“हाम्रो पालिकाको मुख्य आर्थिक आधार नै कृषि र पशुपालन हो”, उपाध्यक्ष राईले भनिन्, “यहाँका धेरै किसानले व्यावसायिक रूपमा पशुपालन गरिरहनुभएको छ । किसानलाई लक्षित गरेर सञ्चालन भएको शिविर लाभदायक बनेको छ ।”

शिविरमा सानोदुम्माका साथै आसपासका बस्तीबाट उपस्थित भएका किसानले घरदैलोमै औषधि र परामर्श पाएपछि खुसी व्यक्त गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको आयोजना तथा पशु सेवा शाखा पौवादुङमाको सहआयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *