आर्थिक विकासमा मानव पूँजीको सन्दर्भ

– दुर्गाप्रसाद गौतम।
वर्तमान समयमा हामीले सामना गरिरहेको विश्व अघिल्ला दुई विश्वयुद्धहरूलाई अनुभव गरेको विश्व भन्दा धेरै अर्थमा पृथक हुँदै गइरहेको पाइन्छ । २० औं शताब्दीको पूर्वार्धसम्म आइपुग्दा विज्ञान तथा प्रविधि र तनकिनीमा भएका व्यापक सामाजिक, साथै सांस्कृतिक तथा राजनैतिक अन्तरसम्बन्धमा भएको व्यापक रूपान्तरण सहितको विस्तार तथा विकासका साथसाथै फराकिलो आधारहरूको विस्तार सहितका सरकारहरू र यसैलाई आधार बनाएर मानवीय क्षमता बृद्धिका लागि स्थापित तथा विस्तारित हुँदै गइरहेको संस्थाहरूले उल्लेख्य रूपमा सामाजिक, आर्थिक उन्नति हासिल गर्नुका साथै विश्वका धेरै मुलुकका जनताहरूको जीवनस्तरमा सुधार ल्याएको कुरा सजिलै अनुभव गर्न सकिन्छ । तर पनि यसको साथसाथै वर्तमान विश्वले भोगिरहेको अर्को वस्तुनिष्ट सत्य विश्वका कयौँ मुलुकहरूका असंख्य मानिसहरू हाल विश्वमा फराकिलो हुँदै गइरहेको सरकारहरूको उपस्थिति र उक्त उपस्थितिलाई योगदान पुर्याउन स्थापित संस्थाहरूबाट सामाजिक तथा आर्थिक भलाइमा अभिबृद्धि सहितको जीवनस्तरको सुधारबाट वञ्चित हुँदै गइरहेको अवस्था हो ।

वर्तमान समयमा हामीले एशियाली क्षेत्रका विभिन्न मुलुकहरूको आर्थिक विकासको स्तरलाई हेर्ने हो भने हामी सजिलै विभिन्न मुलुकहरू बीच विद्यमान विकासको फराकिलो अन्तरलाई सजिलै देख्न सक्दछौँ । प्रतिव्यक्ति आयलाई आर्थिक विकासको सूचकको रूपमा लिने हो भने पनि हामी विद्यमान समयमा विभिन्न मुलुकहरूको आर्थिक विकासको अवस्थामा ठूलो अन्तर सृजना हुँदै गएको प्रतिव्यक्ति आयका आँँकडाहरूमा देखिएको ठूलो भिन्नता तथा अन्तरालबाट सजिलै अनुमान गर्न सक्छौँ । हुन त आर्थिक विकासमा देखिएको यो अन्तरलाई परम्परागत रूपमा राज्यमा विद्यमान अविकासको अवस्था, गरिबी, पछौटेपन आदि तथा यसैको विराशत स्वरूप राज्यमा हुन जाने प्रयाप्त पूँजीको अभावको कारण नै मुलुकहरू गरिबी तथा आर्थिक दुरावस्थाको चपेटाबाट माथि उम्कन नसकेको कारण नै चाहे जस्तो आर्थिक विकास गर्न नसकिएको हो भन्ने मान्यता हामी लगायत विश्वका विभिन्न कम विकसित मुलकुहरूका योजनाकार, आर्थिक विज्ञ तथा सरोकारवालाहरूमा रहेको आमधारणा हो । तर उक्त धारणालाई विरासतमा नै स्वीकार्नु भन्दा पनि यो अवस्था विगतमा थिएन भन्ने तथ्यको ज्ञात गर्दै यसका पछाडिका कारणहरू खोज्नु जरुरी देखिन्छ ।

यसो हुन सके आउँदा वर्षहरूमा त्यसै अनुरूपका आधारहरूको तय गर्नका लागि लगानी गरी मुलुकहरूलाई आर्थिक विकासको निश्चित गतिमा अगाडि बढाउन मद्दत पुग्दछ । साथै यसले हाल देखिएको विश्व अर्थव्यवस्थाहरू बीचको असन्तुलित आर्थिक विकास र यसैबाट सृजित हुन पुगेका वैमनश्यताहरूलाई घटाउँदै विश्वव्यापी हुँदै गएको आर्थिक उदारीकरणको लाभ विश्वका विभिन्न मुलुकहरूबीच अनुभूति गर्न सकिने किसिमले वितरण गर्नेछ । जसका लागि हाल विश्वका अति कम विकसित र विकासोन्मुख तर विकासको गतिलाई पकड्न नसकेका नेपाल जस्ता अर्थव्यवस्थाहरूले मानव पूँजी विकासका लागि लगानी गर्नुपर्ने देखिन्छ ।

सन् १९६० को दशकमा प्रायः उस्तै किसिमको प्रतिव्यक्ति आय भएका विश्वमान चित्रका कयौँ एशियाली मुलुकहरू आज विश्व अर्थव्यवस्थाको उदयीमान आर्थिक शक्तिहरू हुँदै गइरहेका छन् भने अर्कोतर्फ नेपाल लगायतका अधिकांश दक्षिण एशियाली मुलुकहरू किन आज पनि न्यून प्रतिव्यक्ति आय सहित आर्थिक विकासको गतिमा पछाडि पर्दै गइरहेका छन् भन्ने तथ्यहरूको खोजी गर्ने हो भने यसका पछाडि धेरै कारणहरू हुन सक्दछन् । तर ती मध्येको एक महत्वपूर्ण कारणका रूपमा हामी मानव पूँजीको अवस्थालाई लिन सक्छौँ । दोस्रो विश्वयुद्धताका युद्धको मारले थिलथिलिएका आज विश्वका विकसित मुलुकको हारमा लामवद्ध भई उभिएका अमेरिका, जापान, बेलायत, जर्मनी, फ्रान्स, अष्टे«लिया, क्यानाडा, नर्वे, फिनल्यान्ड जस्ता मुलुकहरूले कसरी युद्धको भारलाई सामना गर्दै आफ्नो मुलुकको पुनः संरचना गर्न सफल भई विश्वसामू आफ्नो आर्थिक शक्तिको पहिचानलाई जीवित राख्न सके भन्ने तथ्यको खोजी गर्ने हो भने यिनीहरूको निरन्तर मानव पूँजीको विकास तथा विस्तारका लागि गरिएको लगानी नै हो भन्ने कुरा बुझ्न गाह्रो छैन ।

अर्कोतर्फ सन् १९६० को दशकमा हाम्रै अथवा आज विश्वका अन्य कम विकसित अर्थ व्यवस्थाहरू कम्बोडिया, भियतनाम, भुटान, सोमालिया, आदिको जस्तै आर्थिक विकासको गति रहेका थाइल्याण्ड, सिंगापुर, दक्षिण कोरिया, चीन, हङकङ, भारत जस्ता मुलुकहरूले आफूलाई एशियाका आर्थिक शक्ति राष्ट्रका रूपमा उभ्याउन सफल हुँदै जानुको एक महत्वपूर्ण कारणका रूपमा हामी यिनीहरूको मानव पूँजी विकासमा थप गर्दै लगिएको लगानी नै हो भनी भन्न सक्दछौँ । सन् १९५० को दशक भन्दा अगाडि कुनै पनि मुलुकको आर्थिक विकासका लागि आर्थिक तत्वहरू पूँजी तथा श्रमको भौतिक प्रयोगलाई विशेष जोड दिने गरेको पाइन्छ ।

तत्कालिन विकासवादी नमूनाहरूलाई सूक्ष्म अध्ययन तथा विश्लेषण गर्ने हो भने यी नमूनाहरूको जोड उत्पादन क्रियामा भौतिक पूँजी तथा श्रमको प्रयोगमा जोड रहेको पाइन्छ । यी नमूनाहरूका अनुसार अर्थव्यवस्थामा द्रुतत्तर विकासको एक मात्र कारण ठूलो मात्रामा गरिने भौतिक पूँजी तथा श्रमको प्रयोग हो । यिनीहरूको नमूनामा मानव पूँजी अथवा मानव स्वास्थ्य तथा चरहरूको कुनै प्रयोग तथा कार्य विश्लेषण गरेको देखिँदैन । तर सन् १९८० को दशकदेखि आर्थिक विकासको अवधारणामा नयाँ आयामको विकास भएको देखिन्छ । जसले आर्थिक विकासका सन्दर्भमा मानव पूँजीको प्रयोग तथा विकासलाई जोड दियो जसले कुनै पनि उत्पादक फर्म जसले पूँजीमा लगानी गर्दछ उसले शिक्षित र दक्ष स्वस्थ जनशक्तिलाई काममा लगाउँछ किनभने यस्तो जनशक्ति उत्पादनशील मात्र नभई विद्यमान पूँजी तथा प्रविधिको सक्षमता सहितको प्रभावकारी तथा दक्ष प्रयोगका लागि समेत आवश्यक रहन्छ भन्ने तर्क अगाडि सारियो ।

सन् १९९० मा मानव पूँजीको विकास आर्थिक विकासका लागि अपरिहार्य औजार रहेको कुरा पुष्टि गर्दै संयुक्त राष्ट्रसंघीय प्रतिवेदन १९९० मा पाकिस्तानी अर्थशास्त्री महवुव उल हक र भारतीय अर्थशास्त्री अमत्र्यसेनले मानवीय विकास सुचांकलाई मुलुकको आर्थिक विकासलाई मापन गर्ने गैर आर्थिक परिसूचकका रूपमा विकसित गरे । जुन परिसूचकको मापनका लागि यिनीहरूले साक्षरता प्रतिशत, मानिसको जीवन प्रत्यासा र आयका तथ्यांकहरूको समीश्रणलाई आधार बनाएको देखिन्छ । यिनीहरूले मानव विकास सुचांकलाई ० देखि १ सम्म मान दिई ० देखि ०.४९ सम्म मानव विकास सुचांकको मान भएका मुलुकहरूलाई न्यून मानव विकास भएका मुलुकहरूको श्रेणीमा र ०.५ देखि ०.७९ सम्म मानवविकास सूचांक मान भएका भएका मुलुकहरूलाई मध्यम मानव विकास भएका मुलुकहरूको श्रेणीमा तथा ०.८ देखि १ सम्म मानव विकास सूचांक मान भएका मुलुकहरूलाई उच्च मानव विकास भएका मुलुकहरूको श्रेणीमा सूचिकृत गरेको देखिन्छ । मानव विकास सूचांकको आधारमा विश्लेषण गर्ने हो भने पनि मानव विकास सूचांकको मान उच्च रहेका मुलुकहरू नै आज विश्व अर्थतन्त्रका समृद्ध तथा शक्तिशाली अर्थव्यवस्थाका रूपमा रहेका छन् ।

जहाँ मानव संशाधनको उच्च विकासका कारण नै विज्ञान, प्रविधि तथा तनकिनीको राम्रो विकास तथा अन्वेषण तथा खोज सहितको प्रयोगले यिनीहरूको औद्योगिक विकासका लागि थप उर्जा हासिल हुन पुगेको देखिन्छ । अर्कोतर्फ मानव विकास सूचांक न्यून भएका मुलुकहरू नै आर्थिक विकासमा पछाडि पर्नुका साथै विज्ञान तथा प्रविधिको विकासका साथै तनकिनी विकासमा पनि पछि रहेका छन् । यही कारण यस्ता मुलुकहरूमा औद्योगिक विकासको गति मन्द छ । जसका फलस्वरूप यी मुलुकहरू आफूलाई उपलब्ध साधन तथा स्रोतको सही प्रयोगमा समेत चुक्न गई विकासलाई निश्चित गतिमा डोर्याउन असमर्थ रहेका देखिन्छन् ।

विश्वका विभिन्न मुलुकहरूमा विद्यमान रहेका विभिन्न अनमोल प्राकृतिक सम्पदाहरू मात्र वर्तमान विश्वमा मुलुकहरूको आर्थिक प्रगतिका द्योतक रहन सकेनन् । बरु मुलुकमा उपलब्ध प्राकृतिक तथा खनिज सम्पदालाई के कसरी उत्खनन् गरी मानवीय आवश्यकताहरूको परिपूर्तिका लागि साधन तथा स्रोतहरूको जोहो गर्न प्रयोग गर्न सकिएको छ । त्यसले मुलुकको आर्थिक अवस्थालाई इङ्गित गरेको देखियो । जसका लागि अर्थव्यवस्थामा उपलब्ध मानव पूँजी बढी दक्ष तथा क्षमतावान हुन जरुरी छ र यसो भएमा मात्र उपलब्ध साधन तथा स्रोतहरूको दक्ष परिचालन सहित लक्ष्य अनुसारको आर्थिक विकास हासिल गर्न सकिन्छ ।

विश्वका तिनै मुलुकहरूले आज आफूसँग उपलब्ध तथा अन्य मुलुकमा उपलब्ध साधन तथा स्रोतहरूको यथेष्ट मात्रामा प्रयोग तथा परिचालन गरी उत्पादनको ठूलो मात्रा आफ्नो मुलुकमा केन्द्रित गरेर विश्वमा बढ्दै गइरहेको उपभोगमुखी प्रबृत्तिबाट लाभ हासिल गरी विकसित हुन सकेका छन् । जसले मानव संशाधनको विकासमा उल्लेख्य प्रगति हासिल गर्यो । मानवपूँजीको यथेष्ट विकासले अर्थव्यवस्थामा विद्यमान कम साधन तथा स्रोतको उपलब्धताको अभावलाई पनि पूर्ति गर्दै अर्थव्यवस्थालाई विकसित तुल्याउँछ भन्ने दृष्टान्त हामी जापानको अर्थव्यवस्थालाई हेरेर सजिलै अनुमान गर्न सक्छौँ । नेपाली अर्थतन्त्रमा आर्थिक विकासका प्रचुर सम्भावनाहरू वग्रेल्ती हुँदा हुँदै पनि यसको प्रयोग गरी आर्थिक विकासको गतिलाई अगाडि लान नसकिएको एक महत्वपूर्ण तथ्य हाम्रो मानवीय पूँजीको कम विकासको अवस्था हो ।

अतः मानवीय पूँजी निर्माणमा यथेष्ट लगानी गरी यसको विकास गर्न सके मात्र अर्थव्यवस्थामा इच्छित बृद्धि हासिल गरी आर्थिक विकास प्राप्त गर्न सकिन्छ । अन्यथा विकासका लागि गरिने कुनै पनि प्रयास सार्थक हुन सक्दैनन् । मानव पूँजी विकास गरी स्वस्थ तथा तन्दुरुस्त शैक्षिक जनशक्तिको उपलब्धताले मात्र दु्रतत्तर आर्थिक विकासलाई ग्यारेन्टी गर्दछ । अतः नेपाली अर्थव्यवस्थामा आर्थिक विकासका लागि गरिने हर प्रयत्नमा राष्ट्रिय प्राथमिकतामा नै यथेष्ट मानव संशाधन विकासका लागि लगानीलाई अगाडि सार्न सके यसले हाल विद्यमान मानव विकास सूचांकको मान ०.४९ लाई उल्लेख्य रूपमा बृद्धि गर्नेछ । साथै उक्त बृद्धिलाई दिगो राख्दै आर्थिक विकासमा नयाँ गर्तहरू कोर्न नेपालले आफ्नो दीर्घकालीन योजनामा नै शिक्षा, साक्षरता बृद्धि, मातृ मृत्युदर कटौती, जीवनको भौतिक सुविधा बृद्धि, जीवन प्रत्याशाको बृद्धि साथै बाल मृत्युदरमा कटौती जस्ता क्षेत्रहरूमा उल्लेख्य मात्रामा लगानी प्रवाहित गर्नुपर्ने देखिन्छ । यसो गर्न सके हाल विद्यमान मानव पूँजीको द्रूततर विकास भई आउँदा केही वर्षमा नै हामीले हाम्रो अर्थव्यवस्थालाई समुन्नतितर्फ लैजान सक्ने निश्चितप्रायः छ ।
(लेखक आर्य स्कुल सितापाइलाका संस्थापक प्राचार्य हुन्)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *