काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । स्पोर्टपार्कमा भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ३७.४ ओभरमा दुई विकेटको क्षतिमा १ सय ६० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नामिबियालाई जित दिलाउन जान फ्राइलिंक र मिचेल भान लिन्गेनले अर्धसतक बनाए । फ्राइलिंकले ८९ बलमा ८ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ रन बनाउँदा भान लिन्गेनले ५१ तथा जान निकोल लोफ्टी इटनले नटआउट १७ रनको योगदान गरे ।
नेपालको लागि नन्दन यादव र रोहित पौडेलले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले ३१ र दीपेन्द्र सिंह एरीले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । यस्तै गुलसन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कमीले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको ब्याटिङ लाइनअप ध्वस्त बनाउन नामिबिया जेजे स्मिटले ६ विकेट लिए । उनले ९.५ ओभरमा एक मेडन राख्दै २७ रन दिए । यस्तै ज्याक ब्रासेल र बेर्नार्ड स्चोल्ट्जले समान दुई/दुई विकेट लिए ।
जितसँगै नामिबिया २९ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट समान २४ अंक जोडेको नेपाल नेट रनरेटको आधारमा पाँचौ स्थानमा रहेको छ ।
