३५ वर्षका नाममा आमनागरिकमा भ्रम

निरज आचार्य ।

आजभोलि समाजमा ‘३५ वर्षमा तिमीहरूले के गर्यौ?’ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आमनागरिकमा भ्रम छर्न खोजिँदैछ । तर, राजनीतिक इतिहास र तथ्यहरूले यसलाई पूर्णतः असत्य प्रमाणित गर्छन्। विगत ३५ वर्षको संसदीय कालखण्डमा नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्ने अवसर पाएको वास्तविक अवधि निकै छोटो छ ।

एमालेको नेतृत्वमा बनेका सरकारहरूको इतिहास हेर्ने हो भने, पार्टीका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गर्नुभएको थियो । त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीनवटा कार्यकालमा क्रमशः २९८ दिन, १२४४ दिन र ४२५ दिन गरी कुल ५ वर्ष ४ महिना २२ दिन (जम्मा १,९६७ दिन) देशको नेतृत्व सम्हाल्नुभएको छ। समग्रमा जोडेर हेर्दा विगत ३५ वर्षमा नेकपा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन (कुल ३,०८१ दिन) मात्र सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो ।

बाँकी झन्डै २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेको अवस्था छ । एमालेले नेतृत्व गरेको यो छोटो अवधिमा भएका कामहरू आफैँमा ऐतिहासिक र युगान्तकारी छन् । ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षाको ऐतिहासिक सुरुवात र त्यसको वृद्धि, सुशासन, बलियो राष्ट्रियताको अडान तथा गौरवका ठूला पूर्वाधार विकासका हिसाबले देशले यही अवधिमा असाधारण उपलब्धिहरू हासिल गरेको हो । नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझाउने र राज्य एवं प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेका हुन्।

त्यसैले भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण गरौँ र आलोचना सधैँ तथ्य एवं आँकडामा उभिएर गरौँ । हामी जनताका प्रश्नहरूबाट अवश्य भाग्दैनौँ; जवाफदेहिता र उत्तरदायित्वबाट नेकपा (एमाले) कहिल्यै पन्छिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *