काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
आज कर्णाली र सुदूरपश्चिम तेस्रो जितको खोजीमा हुनेछन् । हाल कर्णाली ३ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा र सुदूरपश्चिम ४ खेलबाट ४ अंक जोड्दै छैटौँ स्थानमा रहका छन् । शुरुवाती दुई खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको कर्णाली तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।
यता सुदूरपश्चिमले भने चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । तर तेस्रो खेलमा विराटनगर किंग्ससँग ३५ रनले पराजित सुदूरपश्चिमले चौथो खेलमा चितवन राइनोजलाई ५ विकेटले हराएको थियो ।
आज हुने दोस्रो खेलमा चितवन र पोखरा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली पुछारको दुई स्थानमा रहेका छन् । चितवन ३ खेलबाट ३ अंक जोड्दै लिगको सातौँ स्थानमा रहको छ भने समान खेलबाट अंकविहीन पोखरा पुछारमा रहेको छ । त्यसैले पोखरा आज चितवनलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा विराटनगरलाई हराउँदै प्रतियोगिताको शुरुवात गरेको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग वर्षाको कारण खेल रद्द भएपछि अंक बाढेको थियो । यस्तै तेस्रो खेलमा सुदुरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो । यता पोखरा भने पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेट, दोस्रो खेलमा जनकपुरसँग ९ विकेट र तेस्रो खेलमा लुम्बिनीसँग ८ विकेटले पराजित भएको थियो ।
