–विजयकुमार पाण्डे ।
स्वर्गीय देवेन्द्रराज पाण्डेजस्तो तरिकाले–आफ्ना सोच, शब्द र आचरणबीच थोरै अन्तर राख्न सक्ने मानिस कमै देखेँ । हामीहरु प्रायः मनमा एकथोक सोच्छौँ अर्को थोक भन्छौँ र तेस्रो थोक गर्छौँ । डा’साब अलि फरक थिए । जनमतसंग्रहताका तत्कालीन प्रधानमन्त्रीसँग नीतिगत मतभेद भएपछि उनले अन्तरात्माको आवाजमा अर्थसचिव पदबाट राजीनामा दिए। यो त्यसबखतको नेपालको कुरा हो, जब कुनै सचिवले मन्त्री वा शक्तिशाली प्रधानमन्त्रीसँग भिन्न मत सहजै राख्न पाउँथ्यो, राय बझाउन पाउँथ्यो। र, मनमा लागेको कुरा सिंहदरबारमा प्रधानमन्त्री वा उनको टोलीलाई सुनाऊँ कि नसुनाऊँ भनेर भयातुर हुनु पर्दैनथ्यो।
व्यवस्था पञ्चायत नै भएपनि, सिंहदरबारमा राजनीतिक नेतृत्व र ब्युरोक्रेसीबीच तीव्र मतभेद र द्वन्द्वका क्षणमा पनि संस्कार र मर्यादाका लक्ष्मणरेखा कसैले नाघ्दैनथ्यो।
प्रधानमन्त्री कार्यालयमा त्यस्तो व्यवहार हुने कल्पना पनि गरिन्थ्यो, जस्तो ‘सिन’ अमित ढकालले सेतोपाटीमा हालै प्रकाशित आफ्नो बहुचर्चित अभिलेखमा अहिलेको सिंहदरबारबारे बयान गर्नुभएको छ। सत्तासँग देवेन्द्रराज पाण्डेको अनौठो सम्बन्ध रह्यो। उनले चाहेको भए सत्ताका ढोकाहरू उनका निम्ति दुई पाइलाको कुरा थियो। पञ्चायतकालमा पनि, पछि पनि।
उनी घुस खाने अवसर नपाएर इमान्दार भएका होइनन्, पद नपाएर पदविरागी भएका होइनन्। रिटायर भएको भोलिपल्टदेखि मिडियामा बाह्रमासे ज्ञान पेल्ने खालका पनि होइनन् । मेरो अनुभवमा देवेन्द्रराजजी स्वभावतः फुङ्गा थिए। सक्षम खालका, स्वतन्त्र फुङ्गा ! उनी ‘मानव अधिकारवादीजस्ता’ थिएनन्। उनी मानव अधिकारवादी नै थिए। उनी ‘अभियन्ताजस्ता’ थिएनन्, अपितु अभियन्ताको मानक नै थिए।
किशुनजीले अनेक अनुनय–विनय नगरेको भए २०४६ पछि संक्रमणकालीन अर्थमन्त्री हुने पनि थिएनन्।
पछिका वर्षमा, देवेन्द्रराजसँग कुनै पदको अधिकार थिएन। तर व्यक्तित्वको प्रभाव थियो। आफ्नो प्रभावलाई उनले पदसँग, सुविधासँग कहिल्यै साटेनन्। र, त्यो नसाटेबापत पाइने महासुखको आनन्द लिएर एउटा रहरलाग्दो जीवन बाँचे। डा.साब, मैले हजुरसँग धेरै समय बिताउन पाइनँ। तर जे–जति पल बिताएँ, सम्झँदा छक्क लाग्छ। कसैसँग बिताएका केही पल, अर्को कसैसँगको वर्षौंको यात्राभन्दा बढी सम्झनामा रहन्छन्। अलविदा, डा.साब!
