‘जनताको ध्यान मोड्न जबरालाई केन्द्रमा ल्याइएको त होइन ?’

-रामकुमारी झाँक्री ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेन्जीबाट सुरक्षा खतरा’ भएको भन्दै मौखिक निर्देशनका आधारमा मध्यराति निवासबाट प्रहरीले नियन्त्रणमा लिएको घटना गम्भीर विषय हो । यही बीचमा जेनजी अभियन्ताहरू स्वयं भन्छन् कि ‘पूर्व प्रधानन्यायाधिशप्रति हाम्रो कुनै प्रश्न छैन, हाम्रा कुनै गुनासा छैनन् । उहाँ हामीसंग सरोकार राख्ने व्यक्ति पनि होइन । हाम्रा प्रश्न, माग र सरोकार त सरकारप्रति छन्।’

त्यसो भए मेरो/हाम्रो सिधा प्रश्न सरकारसँगः जेनजीबाट खतरा थियो भने त्यो खतरा के थियो ? त्यसको आधार के हो ? सुरक्षा खतरा थियो भने सरकारको दायित्व पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिन होइन र ? घरमा सुरक्षा दिने अवस्था होइन भने उहाँलाई मध्यराति प्रहरी कार्यालय लगेर १२ घण्टामा किन घर पठाइयो ? के सुरक्षा प्रश्न हल भयो ? कसरी हल भयो ? नै किन लगियो ?

न्यायपालिकाको सर्वोच्च पद सम्हालिसकेको व्यक्तिमाथि यस्तो असामान्य कदम चाल्दा कानुनको ख्याल गर्नुपर्छ कि पर्दैन ? यसरी पक्राउ गर्दा सरकारले अदालतबाट के पक्राउ आदेश लिएको थियो ? जरूरी पक्राउ पूर्जी जारी हो भने, बहालवाला न्यायिक नेतृत्वलाई जानकारी गराइएको थियो कि थिएन ? सबैभन्दा गम्भीर प्रश्न त के छ भने, सरकार खास गरी गृहमन्त्रीको सचिवालयले करोडौको चलखेल गरि सरूवा सेटिङ गरेको अडियो जनआस्थाले छापेको थियो । त्यसबाट पब्लिकको ध्यान अन्त मोड्न यस्तो काम त गरेका होइनन् ?

सरकार आफ्नै अयोग्यता, असफलता वा जनताका वास्तविक प्रश्नबाट ध्यान मोड्न एउटा व्यक्तिलाई केन्द्रमा ल्याएर सबैको ध्यान ‘डाइभर्ट’ गर्न खोजिरहेको त होइन ? यदि होइन भने, सरकारले यी प्रश्नहरूको तथ्य, कानुनी आधार र स्पष्ट कारणसहित जवाफ दिनुपर्छ । किनकी सबाल सुरक्षा हो भने, सरकारले सुरक्षा दिनुपर्ने हो । मुद्दा होइन भने मध्यरातिको गिरफ्तार किन ? जनताको प्रश्न सरकारसँग छ ग्यास छैन, हराएर मान्छेको खोजी छैन, जेन्सीका मागको सम्बोधन छैन। सरकारको ब्यवहार सडकको प्रहरीबाट प्रतिबिम्बित हुन्छ। यसको व्यवस्थापन र प्रश्नको जवाफ दिनुको सट्टा ध्यान अन्तै मोड्नको लागि मात्र नाटक ? नेपालीमा उखान छ ‘छोरी कुटेर बुहारी तर्साउने’यही त होइन यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *