प्रमुख जिम्मेवारी तामेलीमा राखेर ‘अटेन्सन डाइभर्ट’मा सरकार

-नारायण पौडेल

मन्त्रीको अम्लेटमा माछाको मेरुदण्ड छिर्यो कसरी ? अम्लेटमा माछाको मेरुदण्ड भेटिएको भनिएको घटना वास्तविक थियो वा प्रायोजित ? सायदै खोजी गरियो । सरकारले आउटपुट दिन नसकेको गुनासोकाबीच शुरु भएको रास्वपा महाधिवेशनका दौरान सरकार पक्षबाट एउटा ठूलो माछा र अर्को अम्लेटमा माछाको हड्डी समाएको सनसनीपूर्ण खबर बाहिरियो।

सरकार ज्यूँदोजाग्दो रहेको देखाउन हतार हतार ठूलो माछाको रुपमा विष्णु पौडेल पक्राउ गरियो । उता अटेण्सन सिकिङको महाभोकबाट ग्रसित मन्त्री महाधिवेशनस्थलमा बालेन–रविको अगाडि गरुढको छायाँमा परेको गोमनजस्तो वेवास्तामा परेको पीडामा थिए । आफू ज्यूँदै रहेको देखाउन अम्लेट काण्डलाई भाइरल बनाइयो ।

हतारको लतरपतर अनुसन्धानका कारण ठूलो माछा विष्णु पौडेलको मुद्धा गम्भीर प्रकृतिको बनेन । उता एउटा होटेललाई कारबाही गरेपछि खाद्य सुरक्षाको जिम्मेवारी पूरा भएझैं अन्यत्र छड्के र कारबाहीलाई तीब्रता वा निरन्तरता दिइएन । मन्त्रीको अम्लेटमा माछाको काँडा भेटिनुभन्दा सरकारको आश्रयमा रहेका सुकुम्वासीलाई दिइएको सरकारद्वारा प्रायोजित खानामा किरा भेटिनु गम्भीर सवाल दियो, तर बालै दिइएन ।
गृहमन्त्रीले अम्लेट खाएको भनिएको होटेल साहूलाई सफाईको मौका समेत नदिइ मन्त्रीको आदेशमा ३ लाख जरिवाना तिराइयो । सामन्यतया ४० हजारसम्म जरिवाना तिराइ नसिहत दिने प्रचलन रहेको भएपनि गृहन्त्रीकै प्लेट भएका कारण जरिवाना झण्डै ९ गुणा बढाइयो । जति ठूलो कारबाही उति नै वाहीवाही !

अम्लेटमा माछाको त्यति ठूलो हड्डी परेकै हो ? यसको स्वतन्त्र पुष्टि हुने आधार भने छैन । भान्छामा अम्लेट बनाउने बेलादेखि टेबलमा सर्ब हुने बेलासम्मको भिडियो छैन । अनइन्टरप्टेड एभिडेन्स बिना बिषय यही नै हो भन्न मिल्दैन । अझ न्याय निरुपणमा न्यायाधीश स्वयंले देखेको भएपनि प्रमाण बिना आदेश लेख्न मिल्दैन ।
माछा र अम्लेटको भान्छामा प्रत्यक्ष सम्बन्ध हुँदैन । भान्छा विज्ञलाई सोध्यो भनेपनि अण्डा र माछा भान्छाका जोडी होइनन् । त्यसमाथि अम्लेट रेडिमेड बेचिने परिकार होइन । तरकारी, मासु, भात आदि परिकार सामन्यतः पहिल्यै पकाएर राखिएको हुन्छ, अर्डर आएपछि पस्किएर दिइन्छ । तसर्थ ति परिकारमा मिसावट भैहालेमा हेल्चेक्राइँ भए होला भन्न सकिन्छ ।

अम्लेट चाहिँ अर्डर आएपछि मात्र अण्डा फोरेर बनाइन्छ । कल्पना गर्नोस्–भाइरल मन्त्री टाँटाटुटुँ गर्दै होटलमा आउँदा होटलका कर्मचारीले चिनेनन् होला ? मन्त्री नै डफ्फासहित होटलमा आएपछि कर्मचारीले थप सतर्कता अपनाएनन् होला ? अम्लेट पकाउने ताबा माझेनन् होला ? यदि ताबामा पहिला माछै फ्राइ गरिएको थियो भने पनि त्यति ठूलो टुक्रा देखेनन् होला ? धनियासनिया काटकुट गर्दा हड्डी परेको थियो भन्ने मान्ने हो भनेपनि घोल्दा त पक्कै थाहा हुनुपर्ने होइन ? मसिनो नदेखिने काँडा भए त तै झुक्किएकी भन्नु, मेरुदण्डको टुक्रा कसरी झुक्किनु ?

यी सबै दृष्टान्त हेर्दा अग्रभागमा पानी देखाएर पृष्ठभागमा मोटोलब राखेर राज्यलाई झुक्काउने माष्टरमाइण्ड प्रयोग भएन भन्न सकिन्न । मन्त्रीले खाएको अम्लेटमा कसरी पस्यो माछाको हड्डी ? स्वतन्त्र खोजी गर्नु पर्दैन ?
जेनजीलाई कसले मार्यो भनेर खोजी गर्नुपर्ने प्रमुख जिम्मेवारी तामेलीमा राखेको सरकार अम्लेटको उत्खननमा किन लागो ? समाजका लागि त हर चिज ‘रात गइ बात गइ’ जस्तो छँदैछ । स्थानीय जानिफकारहरुको पिरलो एउटै रहेछ–अम्लेटमा माछाको मेरुदण्ड छिर्यो कसरी ? बोलुँ बोल्न नसकिने, नबोलु मन थाम्न नसकिने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *