USAID

त्रिपक्षीय वार्ता बालुवाटारमा सुरू, नयाँ सहमतिको खोजी गरिने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा आज बिहीबार त्रिपक्षीय वार्ता सुरू भएको छ । विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल हुँदै आएको भए पनि आजको छलफलमा नेता नेपाललाई पनि सहभागी गराइएको हो ।

नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने अनुमान गरिएको छ । दुई अध्यक्षबीच हुँदै आएको वार्तामा वरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि केही न केही सहमति हुन सक्ने देखिएको एक नेताले बताए ।

‘वार्ताहरु बाक्लो र सकारात्मक बन्दै गएका छन् । यसले पनि सकारात्मक संकेत दिएको छ भनेर बुझ्न सकिन्छ, ती नेताले नेपाल समाजलाई भने ।

ओली–प्रचण्डबीच पटकपटक भएका वान–टु–वान वार्तामा सहमति जुट्न नसकेपछि आजको वार्तामा नेता नेपाललाई समेत सहभागी गराउने दुई नेता सहमत भएका थिए । 

बुधबार करिव ३ घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन । शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन ।

गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिए पनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाललगायतका नेताहरुले ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए ।

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमतिअनुसार अघि बढ्ने कि २०७६ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो । तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ रहदै आएकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *