नेपालले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौँ । भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका आपत्तिजनक सामग्रीका विरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको नोटमा भारतका केही सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको उल्लेख गर्दै त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको बताइएको छ ।

नोटमा भनिएको छ, ‘न्यूनतम पेशागत मर्यादा पनि कायम नगरेको घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र नियतवश सुरु गरिएका त्यस्ता अभियानले दुई देशबीचको सम्बन्धमा समेत खलल पुर्‍याउँछ ।’

यस्ता सामग्रीले आम जनतालाई गलत सूचना दिने र भ्रमित गर्ने मात्र नभई एउटा सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक मर्यादालाई समेत आघात पुर्‍याउने उक्त नोटमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *