कास्कीका पहिरो पिडितलाई राहत : मृतकका परिवारलाई एक लाख, घाइतेको निःशुल्क उपचार

कास्की, जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई जनही रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।


बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेकोे समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन ।


अविरल वर्षाका कारण जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नदी किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्र्ने व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ ।


त्यसैगरी खोजी र उद्धार कार्य एवं सुरक्षितरुपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । बिहीबार रातिको पहिरोमा परी जिल्लामा पोखरा महानगरपालिका–१८ गोठादीमा पाँच तथा पोखरा–२६ लेखनाथ र पोखरा–२५ हेमजामा एकएक जनाको ज्यान गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *