साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयास हुँदा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको आक्रमणको प्रयासका क्रममा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो । घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन् ।

घटनामा मृत्यु भएका नेपाली श्रमिकको नाम, ठेगाना तथा अन्य परिचय खुलाइएको छैन । उनको मृत्युको परिस्थितिबारे पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरेर आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।

आगलागी प्रशोधन केन्द्रको परिधिबाहिर भएको जनाउँदै मन्त्रालयले घटनाबाट तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपरेको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *