काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ‘ए’ टी–२० को मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका सबै खेलले उक्त मान्यता पाउने जानकारी दिएको हो ।
क्यानका अनुसार आईसीसीको यस मान्यताले नेपाली क्रिकेटको व्यावसायिक विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान थप विस्तार गर्न मद्दत पुग्नेछ ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाउने भएपछि खेलाडीको प्रदर्शन र प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरलाई थप महत्त्वका साथ हेरिने अपेक्षा गरिएको छ ।
