नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि लिन भारतीय सेनाध्यक्ष नरभाने अनिच्छुक

काठमाडौँ । नेपाल र भारतबीचको सीमा विवादमा तानिएका भारतीय प्रधानसेनापति मनोज मुकुन्द् नरभाने नेपाली सेनाको मानार्थ सेनापतिको उपाधिका लागि अनिच्छुक देखिएका छन् । दुबै देशका सेनापतिहरुले पदभार सम्हालेपछिको छ महिनाभित्र अर्काे देशको औपचारिक भ्रमण गरी त्यहाँको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्ने दशकौंदेखिको प्रचलन उनको पालमा तोडिने भएको छ । यस्तो प्रचलन राणा शासनको अन्त्यलगत्तै सुरु गरिएको हो ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले नियुक्त भएको केही समयपछि भारतको औपचारिक भ्रमण गरि त्यहाँको मानार्थ सेनापतिको उपाधि लिएका थिए । तर भारतीय सेना प्रमुख नरभानेले भने नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि लिन छ महिनासम्म पनि रुचि देखाएनन् । यसले दुई देशबीचका सेना प्रमुखबीच शीतयुद्ध सुरु भएजस्तो देखिएको एक सुरक्षा विज्ञले बताएका छन् ।

भारतबाट नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराहुँदै चीनको कैलाश मानसरोवर जोड्ने बाटोको उद्घाटन कार्यक्रममा भाग लिएर फर्किएपछि उनले बाटो बनाइएको उक्त भु–भाग भारतको भएको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । भारतीय सेनापति नरभानेले प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालभरि नेपालको औपचारिक भ्रमणसमेत नगर्ने संकेत देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपत्र भएकाले सेनाको तेस्रो वरियताबाट वरिष्ठहरुलाई उछिनेर नरभाने सीधै प्रधानसेनापति हुन सफल भएका थिए । उनी सेनापति भएपछि दुई देशका सेनापतिहरुबीच आपसी संवादसमेत हुन नसकेको बताइन्छ ।

सन् १९६० अप्रिल २२ मा जन्मिएका सेनापति नरभानेले यसअघि कमाण्डरको रुपमा संवदेनशील मानिएको जम्मुकश्मिर, आसाम जस्ता युद्धरत क्षेत्रमा समेत नेतृत्व गरेका छन । उनले श्रीलंकाको द्वन्द्व अन्त्य गर्ने समयमा भारतको तर्फबाट अति महत्त्वपुर्ण मानिएको सुरक्षाको जिम्मेवारीसमेत पाएका थिए । पछिल्लो पटक जम्मु कश्मिरमा संकटकाल घोषणा गर्दा उनले त्यहाँको सुरक्षाको नेतृत्व सम्हालेका थिए । कडा मिजासका नरभाने नेपालप्रति अनुदारवादी व्यक्तिका रुपमा चिनिन्छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी देशको प्रयास विमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नभएपछि भारतीय पक्ष रुष्टहुँदै आइरहेको छ । त्यसैको प्रतिक्रियास्वरुप सेनापति नरभाने नेपालसँग अझ बढी चिढिएका हुन् । फलस्वरुप नरभानेले सेनाप्रमुखको पद सम्हालेपछि दुई देशका सेनापतिहरुका बीच यसअघि नियमियत हुँदैआएको सम्वादसमेत पातलिएको छ ।

अर्काे देशको मानार्थ सेनापतिको उपाधि लिँदा त्यहाँका राष्ट्राध्यक्षसहित मुलुकको कार्यकारी प्रमुखलाई शिष्टाचार भेट गर्ने प्रचलन रहँदै आएको छ । तर नेपालका सेनापति थापाले भारतको औपचारिक भ्रमण गर्दा प्रधानमन्त्री मोदीलाई भेट्नसमेत पाएनन् । मोदीलाई भेट्न नपाएपछि सेनापति थापा कलकत्ताबाटै राजधानी नयाँ दिल्लीसमेत नटेकी नेपाली सेनाको हेलिकप्टर मगाएर स्वदेश फर्किएका थिए ।

पाँच वर्षअगाडि नेपालको नयाँ संबिधान जारी भएपछि बेखुशी भएको भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । नाकाबन्दीका कारण दुबै देशबीचको सम्बन्ध चिसिएको बेलामा दुबै देशका सेनापतिले कूटनीतिक पहलमार्फत नाकाबन्दी खुलाउन गरेको योगदानलाई महत्त्वपूर्ण मानिने ती सुरक्षाविद्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *