‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’

काठमाडौं। कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ।

मंगलबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै वक्ताहरूले राजनीतिक दलले चासो कम दिएका कारण वैदेशिक रोजगारीको क्रममा पीडित भएकाले न्याय पाउन नसकेको धारणा राखे ।

कार्यक्रममा बोल्दै जनता समाज पार्टीका वैदेशिक रोजगार तथा श्रम, आप्रवासन विभाग प्रमुख प्रेमनारायण थापाले वैदेशिक रोजगारीको समस्याबारे राष्ट्रिय स्तरमा सबैको समान धारणा हुनुपर्ने बताए।

सोही कार्यक्रममा बोल्दै श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले कोरोना महामारीको बेला वैदेशिक रोजगारीको नाममा ठगीमा पर्ने क्रम तीन–चार गुणाले बढेको उल्लेख गर्दै यस्तो बेला राजनीतिक दलहरूले श्रमिकका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए। ‘अहिले देखिएको समस्या समाधान गर्न भएका नीति र कानुन कार्यान्वयन हुन पनि उत्तिकै आवश्यक छ,’ उनले भने। उनले विदेशमा रहेकालाई आम निर्वाचनमा मताधिकार हुने व्यवस्था मिलाउनुपर्ने समेत बताए।

पूर्वमन्त्री तथा माओवादी नेतृ कमला रोकाले कोरोना महामारीको बेला महिलामाथि हुने हिंसासमेत बढेको उल्लेख गर्दै यसका लागि राज्यका जिम्मेवार संरचना गम्भीर हुन आवश्यक रहेको बताइन्। ‘श्रमिक समस्यामा पर्दा उनीहरूको पक्षमा काम गर्ने संयन्त्रका फोन उठ्दैनन् भन्ने गुनासो छ,’ उनले भनिन्, ‘त्यस्तै रोजगारीका लागि विदेश जाने कामदारसँग भर्ना शुल्क पनि लिन हुँदैन ।’

पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता शेरबहादुर तामाङले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन राम्रोसँग तथ्यांक राख्नुपर्ने बताए। त्यस्तै, विदेशमा श्रमिक समस्यामा पर्नेबित्तिकै प्रभावकारी उद्धार संयन्त्रको आवश्यक रहेको उनको भनाइ छ। सरकारी तथ्यांक अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ५५ लाख वैदेशिक रोजगारीमा गएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *