वैदेशिक रोजगारीमा ठगीका घटना बढे

काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस क्षेत्रमा हुने ठगीका घटना पनि बढेका छन्। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा व्यक्तिगत र संस्थागत गरी १ हजार १ सय ४८ जनाले यस क्षेत्रमा भएका ठगीसम्बन्धी उजुरी दर्ता गराएका छन्। मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का अनुसार उजुरी दिनेहरूमध्ये पुरुष एक हजार ७ जना र महिला एक सय ४१ जना रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत र संस्थागत गरी ३ हजार एक सय ५५ जनाले ठगी सम्बन्धी उजुरी दर्ता गराएको फोरममा कार्यरत अधिवक्ता सुदिप देवकोटाले बताए। संस्थामा वैदेशिक रोजगारीमा जाने कामदारले प्रत्येक दिन जस्तो ठगीका घटना तथा उनीहरूले भोग्नुपरेका विभिन्न कठिनाइबारे उजुरी दिने गरेका छन्। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भनिरहँदा श्रमिक ठगिने तथा उनीहरूले भोगिरहेका घटनामा कमी आउन भने सकेको छैन।

सरकारले वैदेशिक रोजगारीका लागि जाने कामदारको सुरक्षाका लागि देशमा जति रेमिट्यान्स भित्रिने गरेको छ त्यसको अनुपातमा खर्च गर्न नसक्दा विकृति बढ्दै गइरहेको पिपुल फोरमद्वारा सञ्चालित निःशुल्क कानुनी सहायता कार्यक्रमका संयोजक अधिवक्ता देवकोटाले बताए। सरकार, व्यवसायी र अधिकारकर्मीले वैदेशिक रोजगारीमा जाने कामदारलाई सचेत नभएको भन्दै दोष दिने गरेएको भए पनि युवाको उजुरी सुनुवाइ हुन सकेको छैन। वैदेशिक रोजगार सम्बन्धी कुनै पनि कार्यक्रमहरूमा सरकारी निकायले कामदारको हितमा सही निर्णय गर्न नसक्दा विभिन्न बहानामा नेपाली युवा ठगिने क्रम बढेको उनले बताए।

आर्थिक वर्ष २०७६/०७७ देखि २०७९ को कात्तिकसम्ममा व्यक्तिगत र संस्थागत गरी ६ हजार ७ सय ७८ जना श्रमिकले विभिन्न खालका ठगी भएको दाबीसहित उजुरी गरेको फोरमले बताएको छ। फोरमको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७८/२०७९ मा उजुरी गर्नेको संख्या २ हजार ९२ जनाले बढेको छ। आर्थिक वर्ष ०७८/७९ मा व्यक्तिगत र संस्थागत गरी ३ हजार १ सय ५५ जनाको उजुरीमध्ये पुरुष २ हजार ७ सय २८ र महिला ४ सय २७ जना रहेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *