प्रज्जवल थापा । स्पेनिस फर्वार्ड फेरान टोरेसको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले न्युकेस्चल युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
सिटीले यसअघि नै लिगको उपाधि जितिसकेको छ । शुक्रबार राति जेम्स पार्कमा भएको खेलमा सिटीलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक पूरा गर्दा जोए कान्सेलोले एक गोल थपे । न्युकेस्चल युनाइटेडको लागि एमिल क्राफ्थ,जोएलिन्टन, जोसेफ विल्लकले एक/एक गोल गरे । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो ।
२५ औं मिनेटमा शेल्भेको पासमा क्राफ्थले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । ३९ औं मिनेटमा रोड्रीको पासमा कान्सेलोले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । ४२ औं मिनेटमा गुन्डोगानको पासमा टोरेसले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर पहिलो हाफको अतिरिक्त समयमा जोएलिन्टनले पेनाल्टीमा गोल गर्दै न्युकेस्चललाई २-२ गोलको स्थितिमा ल्याए ।

६२ औं मिनेटमा विल्लक पेनाल्टीमा चुकेपनि रिबाउन्डमा आएको बललाइ पोस्टको दिशा दिँदै युनाइटेडलाई फेरि अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा जेससको पासमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-३ गोलको बराबरीमा ल्याए । ६६ औं मिनेटमा टोरेसले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै सिटीलाई ४-३ गोलको जित दिलाए ।
जितसँगै च्याम्पियन सिटी ३६ खेलबाट ८३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । पराजित न्युकेस्चल युनाइटेड समान खेलबाट ३९ अङ्कको साथ लिगको १६ औं स्थानमा छ ।
