बाढीपीडितको खोज तथा उद्धारमा सघाउन दक्षिण कोरियाबाट ४४ सदस्यीय टोली नेपाल आउँदै

काठमाडौँ । दक्षिण कोरियाले रसुवामा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय आपतकालीन उद्धार टोली नेपाल पठाउने भएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत नेपाल सरकारको अनुरोधपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न टोली पठाउन लागिएको समाचार संस्था रोयटर्सले जनाएको ।

विदेश मन्त्रालय तथा अग्नि नियन्त्रण निकायका अधिकारीसहितको टोली मंगलबार सैन्य ढुवानी विमानमार्फत नेपाल आउनेछ । टोलीले नेपालमा करिब १० दिनसम्म खोज तथा उद्धार कार्यमा सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि गत साता रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपछि दक्षिण कोरियाले जलविद्युत् आयोजनामा कार्यरत बेपत्ता नौ जना दक्षिण कोरियाली नागरिकको खोजीका लागि द्रुत प्रतिक्रिया टोली नेपाल पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *