पूर्व र बहालवाला प्रहरीलाई अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट नगर्न प्रहरी प्रधान कार्यालयले बहालवाला तथा पूर्वप्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विज्ञप्ति जारी गरी यस्तो निर्देशन दिएका हुन् । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानको दायरामा रहेका विषयसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावट भइरहेको देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यस्ता सूचनाको अनधिकृत खुलासाले शंकित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पर्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको सांगठनिक गरिमामा समेत आँच पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन तथा प्रहरी आचरणविपरीतको गम्भीर कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी नियमावली, २०७१ को नियम ७९ अन्तर्गत आचरणसम्बन्धी व्यवस्था उल्लङ्घनमा नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ (३), (४) र (५) अन्तर्गत गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहनसम्बन्धी कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि आवश्यक विभागीय तथा कानुनी कारबाही हुन सक्ने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न तथा त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन र नगराउन निर्देशित गरिएको छ ।

प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा सांगठनिक जिम्मेवारीप्रति सचेत र जिम्मेवार रहनसमेत आग्रह गरिएको छ ।

पूर्वप्रहरी वा बहालवाला प्रहरी कर्मचारी कुनै पनि गैरकानुनी तथा अनुशासनविपरीतका गतिविधिमा संलग्न रहेको, त्यस्ता कार्यलाई प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइएमा प्रचलित कानुन तथा संगठनको नीतिगत व्यवस्थाबमोजिम छानबिन गरी संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *