काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग गत कात्तिक २१ गते भएको सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक निर्णय तथा प्रशासनिक प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रालयले सहमतिअनुसार हालसम्म भएका निर्णय, प्रगति र आगामी कार्ययोजनाबारे जानकारी दिँदै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, नेपाल आर्मी मेडिकल कलेजको सिटसम्बन्धी विषय तथा बर्दिबास मेडिकल कलेज निर्माणलगायतका काम अघि बढाइएको जनाएको हो ।
मन्त्रालयका अनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र नेपाल आर्मी मेडिकल कलेजको सिटसम्बन्धी विषयमा छानबिन गर्न डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा डा. दिलिप शर्मा, डा. प्रबोध रिजाल, प्रा. मुना राना र डा. विष्णु पोखरेल सदस्य छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट सहमतिमा उल्लेखित कार्यक्षेत्रभित्र रहेर छानबिन गर्न समितिलाई निर्देशन दिइएको र मंगलबारदेखि काम सुरु गर्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका क्रममा देखिएका कानुनी तथा प्रशासनिक समस्या समाधान गर्न आवश्यक अध्यादेश तयार गरी अन्तिम रूप दिइएको छ । उक्त अध्यादेश आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ कार्यान्वयनका लागि पनि मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाउने भएको छ । नेपालभित्र सञ्चालित चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक तथा सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनका लागि कार्यदलले अध्ययन गर्नेछ ।
कार्यदललाई कानुनी, नीतिगत तथा व्यावहारिक पक्षको अध्ययन गरी ६ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइने मन्त्रालयले जनाएको छ । प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ ।
यसैगरी, बर्दिबास मेडिकल कलेज निर्माणका लागि चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेटमा आवश्यक रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । आयोजना क्षेत्रभित्र पर्ने रूख कटानको काम अन्तिम चरणमा पुगेको र भौतिक संरचना निर्माणका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढिरहेको छ ।
आगामी तीन वर्षभित्र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै मन्त्रालयले बर्दिबास मेडिकल कलेज निर्माण तथा सञ्चालन गर्ने प्रतिबद्धताबाट सरकार पछि नहटेको स्पष्ट पारेको छ ।
मन्त्रालयले सरकारले गरेका सहमति र प्रतिबद्धता आश्वासनमा मात्र सीमित नरहेको दाबी गर्दै सम्बन्धित निर्णय, प्रशासनिक प्रक्रिया र कार्यान्वयनका चरणमा काम अघि बढिसकेको जनाएको छ ।
साथै, डा. केसीले उठाएका माग र चासोलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै थप दबाबमूलक कार्यक्रमभन्दा संवाद, सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
चिकित्सा शिक्षा सुधारका विषयमा डा. केसीको सरोकारलाई सम्मान गर्दै संवाद र सहकार्यका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न मन्त्रालय तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
