रोयटर्स । रुसको सैन्य गतिविधिसँग सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा–२ ड्रोन आक्रमणमा परेपछि बाल्टिक सागरमा आगलागी भएको छ। फिनल्यान्डले आक्रमण युक्रेनले गरेको हुन सक्ने जनाएको छ। आगलागीपछि जहाज बग्दै फिनल्यान्डको जलक्षेत्रमा पुगेको थियो।
जहाजमा रहेका चालक दलका १६ सदस्यले लाइफबोटमार्फत जहाज छाडेर नजिकै रहेको अर्को रुसी जहाजमा शरण लिएका थिए। उनीहरू अहिले रुस फर्किरहेको फिनल्यान्डको सीमा सुरक्षा बलका कमान्डर इल्जा इलिनले शनिबार राति सार्वजनिक प्रसारक वाइएलईलाई बताएका छन्।
फिनल्यान्डको सशस्त्र सेनाका प्रवक्ता आकी–माउरी हुहटिनेनले पत्रकार सम्मेलनमा आक्रमण युक्रेनले गरेको सम्भावना रहेको बताए। यद्यपि, जहाजलाई किन निशाना बनाइएको हो भन्ने स्पष्ट नभएको उनले उल्लेख गरे।
रुसको कालिनिनग्रादतर्फ गइरहेको जहाज रुसको गोगल्यान्ड टापुको पश्चिममा अन्तर्राष्ट्रिय जलक्षेत्रमा ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको फिनल्यान्डको रक्षा बलले जनाएको छ। यसअघि रुसी अधिकारीहरूले पनि जहाजमाथि आक्रमण भएको जानकारी दिएका थिए।
शनिबार रातिसम्म जहाजमा आगलागी जारी थियो। जहाज फिनल्यान्डको जलक्षेत्रमा लंगर लगाएर राखिएको अवस्थामा उद्धार तथा आगो नियन्त्रण अभियान फिनल्यान्डले सञ्चालन गरिरहेको छ। पछि रुसी जहाजहरूले क्षतिग्रस्त जहाजलाई रुसतर्फ तान्न सक्ने अधिकारीहरूले बताएका छन्।
उद्धार अभियानका क्रममा रुसी हेलिकप्टरले केही समय फिनल्यान्डको हवाई क्षेत्र उल्लङ्घन गरेको आशंका गरिएको गल्फ अफ फिनल्यान्ड कोस्ट गार्डका कमान्डर मिक्को सिमोलाले बताएका छन्।
युक्रेनले यस वर्ष रुसको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा पटकपटक ड्रोन आक्रमण गरेको छ। केही ड्रोन बाल्टिक क्षेत्रको हवाई क्षेत्रमा समेत प्रवेश गरेपछि युद्ध नाटो सदस्य राष्ट्रहरूको क्षेत्रसम्म फैलिन सक्ने चिन्ता बढ्दै आएको छ।
आक्रमणको घटनापछि फिनल्यान्डले पूर्वी गल्फ अफ फिनल्यान्ड क्षेत्रमा नागरिक सुरक्षा र ड्रोन अवरोध गर्ने सम्भावित कारबाहीलाई सहज बनाउन हवाई तथा समुद्री गतिविधिमा अस्थायी प्रतिबन्ध लगाएको छ।
फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले युद्ध छिमेकी क्षेत्रसम्म फैलिएको भन्दै घटनाबारे प्रतिक्रिया दिएका छन्। उनले रुसको आक्रमणविरुद्ध लड्न युक्रेनलाई अधिकार रहेको बताएका छन्।
स्विडेनका लडाकु विमानले पनि फिनल्यान्ड र नाटोको क्षेत्रीय अखण्डताको सुरक्षा सुनिश्चित गर्न घटनापछि परिचालन गरिएको स्विडेनका रक्षा मन्त्री पाल जोन्सनले बताएका छन्। एस्टोनियाले पनि उद्धार, आगो नियन्त्रण तथा प्रदूषण व्यवस्थापनमा सहयोग गर्न नौसैनिक जहाज पठाएको जनाएको छ।
