किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र कब्जामा रहेको क्रिमिया जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको बारम्बारको आक्रमणलाई रूसका आक्रमणको ‘उचित जवाफ’ भएको बताएका छन् ।
बीबीसीसँग किभमा कुरा गर्दै जेलेन्स्कीले युक्रेनका पुलहरूमा रूसले १०९ पटक आक्रमण गरेको दाबी गर्दै क्रिमियाली पुलमाथि युक्रेनको कारबाही त्यसको प्रतिउत्तर भएको बताएका हुन् ।
क्रिमियाली पुलमा युक्रेनले आक्रमण गरेपछि रूसले युक्रेनमाथि तीव्र आक्रमण जारी राखेको विषयमा टिप्पणी गर्दै जेलेन्स्कीले त्यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध रोक्न नचाहेको संकेतका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार पुटिन युद्ध थप चर्काउने बहाना खोजिरहेका छन् ।
रुसले क्रिमियाली पुल नागरिक प्रयोजनका लागि मात्रै प्रयोग हुने दाबी गर्दै आएको छ । तर जेलेन्स्कीले उक्त दाबी अस्वीकार गरेका छन् । उनले पुलबाट रुसी ट्याङ्क र अन्य सैन्य उपकरण आवतजावत गरेको तस्बिर तथा दृश्यहरू सार्वजनिक रूपमा देखिएको भन्दै पुल सैन्य आपूर्ति र लजिस्टिक प्रयोजनमा समेत प्रयोग भइरहेको बताएका छन् ।
जेलेन्स्कीले रूसले पनि युक्रेनका पुलहरूमा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको उल्लेख गरेका छन् । यसै साता युक्रेनी सेनाले संयुक्त क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमार्फत क्रिमियाली पुलको सडक खण्डमा क्षति पुर्याएको थियो । आक्रमणबाट पुलको बीच भाग भत्किएको र दुईमध्ये एउटा सहायक संरचनासमेत समुद्रमा खसेपछि सडक यातायातका लागि पुल प्रयोग गर्न नसकिने अवस्थामा पुगेको समाचारमा उल्लेख छ ।
यसैबीच, बेलायतका रक्षा सचिव वेस स्ट्रीटिङले किभमा जेलेन्स्कीसँग भेट गरेका छन् । उनले युक्रेनप्रति युरोपको समर्थन एकताबद्ध रहेको सन्देश दिन आफू किभ आएको बताएका छन् । स्ट्रीटिङले रूसले पोल्यान्डमा क्षेप्यास्त्र प्रहार गरेको घटनालाई उत्तेजक गतिविधि भन्दै युक्रेनको प्रतिरक्षाका लागि थप सहयोग गर्नु नै नाटोको उपयुक्त प्रतिक्रिया हुने बताएका छन् ।
