पोल्यान्डमा रुसी क्षेप्यास्त्र खसेको टस्कको दाबी

वार्सा । पोल्यान्डको हवाई क्षेत्रमा तीन वस्तुले प्रवेश गरेको र तीमध्ये एउटा रुसी क्रुज क्षेप्यास्त्र रहेको पोल्यान्डले जनाएको छ । प्रधानमन्त्री डोनाल्ड टस्कले पश्चिमी मुलुकहरूको सैन्य अभ्यास भइरहेको क्षेत्रनजिक भएको घटनालाई आकस्मिक नभएको संकेत गरेका छन् ।

घटनामा कुनै मानवीय क्षति भएको छैन भने भौतिक क्षतिको विवरण पनि सार्वजनिक भएको छैन । पोल्यान्डले घटनालाई रुसको ‘उक्साहट’ भन्दै आलोचना गरेको छ । रुसले भने घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

पोल्यान्डका रक्षामन्त्री व्लादिस्लाव कोसिनियाक–कामिस्जका अनुसार रुसी ख–१०१ क्रुज क्षेप्यास्त्र दक्षिणपूर्वी पोल्यान्डको नोवी लिपोविच क्षेत्रमा खसेको थियो । उक्त स्थान युक्रेनी सीमाबाट करिब ५० किलोमिटर टाढा छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ६ः३० बजे खसेको क्षेप्यास्त्रको आवाज सुनेकी स्थानीय बासिन्दा नाटाली स्ज्पोनारले आफू बच्चाहरूलाई विद्यालय पठाउने तयारी गरिरहेका बेला क्षेप्यास्त्र खसेको आवाज सुनेको बताएकी छन् । घटनाको दृश्य एक फार्ममा जडान गरिएको क्यामेरामा समेत कैद भएको थियो । अधिकारीहरूले घटनास्थल आसपासका बासिन्दालाई जोखिम नरहेको बताएका छन् ।

कोसिनियाक–कामिस्जका अनुसार अर्को शंकास्पद क्षेप्यास्त्र रुडनिक नाद सान क्षेत्रमा खसेको थियो भने मोलोडिच क्षेत्रमा जेट इन्जिनयुक्त ड्रोन खसेको थियो ।

नेटोका महासचिव मार्क रुटेले पोल्यान्डको हवाई क्षेत्र उल्लंघन भएको घटनाको निन्दा गर्दै नेटोका लडाकु विमानहरू प्रतिक्रिया स्वरूप परिचालन गरिएको बताएका छन् । उनले घटनालाई युक्रेनविरुद्ध जारी रुसी युद्धको परिणाम भन्दै खतरनाक भएको टिप्पणी गरेका छन् ।

दक्षिणपूर्वी पोल्यान्डमा बेलायत र फ्रान्सको नेतृत्वमा ‘कोलिजा २०२६’ नामक सैन्य अभ्यास भइरहेको छ । युक्रेनमा सम्भावित शान्ति सम्झौताका लागि तयारीस्वरूप पश्चिमी देशहरूको ‘कोलिसन अफ द विलिङ’ समूहका ११ देश यस अभ्यासमा सहभागी छन् ।

प्रधानमन्त्री टस्कले पत्रकारहरूसँग सैन्य अभ्यास भइरहेको नोवा देम्बा क्षेत्रनजिकै क्षेप्यास्त्र तथा अन्य वस्तु खस्नु संयोग नभएको बताएका छन् ।
घटनापछि बेलायत, फ्रान्स, पोल्यान्ड, इस्टोनिया र लिथुआनियाका पाँच रक्षा मन्त्री सैन्य अभ्यासस्थल पुगेका थिए ।

बेलायतका रक्षा सचिव वेस स्ट्रिटिङले घटनालाई युरोपलाई विभाजित गर्ने र युक्रेनको स्वतन्त्रता तथा लोकतन्त्रको संघर्षलाई समर्थन गर्ने सहयोगीहरूलाई निरुत्साहित गर्ने रुसी उक्साहटको अर्को उदाहरण भएको बताएका छन् ।ब्रसेल्समा बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले पनि क्षेप्यास्त्र घटनालाई अस्वीकार्य भन्दै टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *