शान्ति सम्झौताको बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

विस्तृत शान्ति सम्झौताको ऐतिहासिक दिनको स्मरण गर्दै प्रचण्डले द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु र संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राष्ट्रिय आवश्यकता भएको बताएका हुन् ।

२०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा प्रचण्डले हस्ताक्षर गरेका थिए ।

प्रचण्डले उक्त सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको उल्लेख गरेका छन् । उनले सम्झौता नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको बताएका छन् ।

शान्ति सम्झौताकै आधारमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता उपलब्धि हासिल भएको उनको भनाइ छ ।

उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै शान्ति सम्झौताका प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।

विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व रहेको उनले उल्लेख गरेका छन् ।

प्रचण्डका अनुसार शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणसँग जोडिएको छ । त्यसैले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको भावना र सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनुपर्ने उनले बताएका छन् ।

शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *