काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै नेपालको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीको प्रथम स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष घिसिङले परम्परागत राजनीतिक सोच, अस्थिरता, कुशासन, भ्रष्टाचार, बेरोजगारी र गरिबीको दुष्चक्रबाट देशलाई मुक्त गर्दै समृद्धिको नयाँ बाटोमा अघि बढाउने पार्टीको लक्ष्य रहेको बताएका हुन् ।
उनले पार्टीको आर्थिक रूपान्तरणको मूल आधार ‘हरित क्रान्ति’ भएको उल्लेख गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, हरित कृषि, वातावरणमैत्री उद्योग, आधुनिक प्रविधि, पर्यटन, डिजिटल अर्थतन्त्र र उद्यमशीलताको विस्तारलाई एकीकृत रूपमा अघि बढाउने योजना रहेको बताएका छन् ।
घिसिङले कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउँदै किसानको आय वृद्धि गर्ने तथा पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन् । सूचना प्रविधि, नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ताको उपयोगमार्फत नेपाललाई ज्ञान तथा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउने उनको भनाइ छ ।
रोजगारी सिर्जना र गरिबीको अन्त्यलाई पार्टीको सबैभन्दा महत्वपूर्ण प्राथमिकता रहेको उनले बताएका छन् । देशभित्रै सम्मानजनक रोजगारी र आयआर्जनका अवसर सिर्जना गरी युवालाई विदेशिनुपर्ने बाध्यताबाट मुक्त गर्ने, श्रम र सीपको सम्मान गर्ने तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई आर्थिक अवसर र सामाजिक सुरक्षामार्फत माथि उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा निर्यातमुखी बनाउने, स्वदेशी स्रोत, सीप, पुँजी र प्रविधिको अधिकतम परिचालन गर्ने तथा निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबीच प्रभावकारी सहकार्य स्थापित गर्ने पार्टीको लक्ष्य रहेको उनले बताएका छन् ।
राजनीतिक तथा वैचारिक रूपमा कुनै पनि अतिवादको पक्षमा नरहेको उल्लेख गर्दै घिसिङले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, आर्थिक स्वतन्त्रता, समावेशिता र जनउत्तरदायित्वमा आधारित मध्यमार्गी, व्यावहारिक र परिणाममुखी राजनीति गर्ने बताएका छन् । उनले पार्टीको राजनीति विभाजन र निषेधको नभई सहमति, सहकार्य र राष्ट्रिय एकताको राजनीति भएको उल्लेख गरेका छन् ।
सुशासनबिना समृद्धि, उत्पादनबिना आत्मनिर्भरता र सामाजिक न्यायबिना समृद्धिको अर्थ पूर्ण नहुने भन्दै उनले पारदर्शी शासन व्यवस्था, भ्रष्टाचारमुक्त सार्वजनिक प्रशासन, जवाफदेही नेतृत्व र नागरिकको अर्थपूर्ण सहभागितालाई परिवर्तनको अनिवार्य आधार मानेका छन् ।
एक वर्षको यात्रा सिकाइ, अनुभव र आत्मसमीक्षाको अवसर भएको उल्लेख गर्दै घिसिङले आगामी दिनमा पार्टीलाई अझ सशक्त, संगठित र जनताप्रति उत्तरदायी बनाउँदै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युवाले देशमै भविष्य देख्ने, किसानले उत्पादनको उचित मूल्य पाउने, श्रमिकले सम्मानजनक रोजगारी पाउने, उद्यमीले अवसर पाउने र कुनै पनि नागरिक गरिबी, अभाव तथा विभेदका कारण पछाडि नपर्ने नेपाल निर्माण गर्ने लक्ष्य रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
आशालाई विश्वास, बेरोजगारीलाई रोजगारी, परनिर्भरतालाई आत्मनिर्भरता र गरिबीको अँध्यारोलाई समृद्धिको उज्यालोमा रूपान्तरण गर्ने राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आह्वान गरेका छन् ।
