भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने दुई अस्पतालमा १८० भन्दा बढी बिरामी उपचाररत छन् ।

मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिने बताएका छन् । भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइएको हुन सक्ने बताइन्छ ।

गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाडमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।

भारतका विभिन्न क्षेत्रमा यस्तो मदिरा व्यापक रूपमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा बोतलमा मदिरा पाइन्छ । मिथानोल सेवनले अन्धोपन र कलेजोमा क्षति पुर्‍याउनुका साथै बढी मात्रामा सेवन भएमा ज्यानसमेत जान सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *