प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता रिजालका पाँच प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन साह आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा निस्कन लागेका बेला नेकपा एमालेका नेता विष्णु रिजालले भ्रमणको तयारी र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि प्रश्न उठाएका छन् ।

रिजालले भ्रमणको शुभकामना व्यक्त गर्दै भ्रमणबाट हासिल हुने उपलब्धि हेर्न बाँकी रहेको बताएका छन् । तर, भ्रमणअघि प्रधानमन्त्री साहका व्यवहारका कारण केही जिज्ञासा उत्पन्न भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले राष्ट्रपतिदेखि संसद्मा रहेका राजनीतिक दलहरूसँग समेत भ्रमणबारे छलफल र परामर्श नगरेको भन्दै प्रश्न उठाएका छन् । कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिको महत्त्व हुने उल्लेख गर्दै रिजालले देशभित्रका राजनीतिक दलहरूसँग परामर्श नगरी भारतसँग के गर्न लागिएको हो भन्ने जिज्ञासा राखेका छन् ।

भारतमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूका संस्थासँग प्रधानमन्त्रीले नेपाली दूतावासमा प्रतिनिधिमूलक भेटघाट गरेर आश्वस्त पार्नुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री भारत पुग्दा प्रवासी नेपालीसँग भेट गर्ने परम्परा र महत्त्वलाई उनले प्रश्नका रूपमा प्रस्तुत गरेका छन् ।

नेपालमा भारतीय लगानी भित्र्याउने उद्देश्यले प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा निजी क्षेत्रका अगुवाहरू सहभागी भए पनि भारतीय उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम नरहेको भन्दै रिजालले त्यसबारे पनि प्रश्न गरेका छन् ।

उनले देशभित्र सामान्य छलफल र परामर्श नगरेका प्रधानमन्त्रीले दीर्घकालीन सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्दा नैतिक तथा राजनीतिक आधार कमजोर हुन सक्ने टिप्पणी गरेका छन् । यस्ता सम्झौताले भविष्यमा विवाद सिर्जना गर्न सक्ने भन्दै उनले बेलैमा ध्यान दिनुपर्ने बताएका छन् ।

रिजालले प्रधानमन्त्री आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न तथा दोहोरो संवाद गर्न नसक्नु व्यक्तिगत समस्या हो वा नेपाल सरकारको नीति नै हो भन्ने प्रश्न उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *