कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दल वा नेताको चाकडीमा नभई देश र जनताको सेवामा समर्पित हुन आग्रह गरेका छन् । पदीय जिम्मेवारीभन्दा राजनीतिक नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले भनेका छन्, ‘कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ। आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन । हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो ।’

उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ । राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ….देशप्रति समर्पित भएर जनताको सेवा गर्ने ।’
a

Leave a Reply

Your email address will not be published. Required fields are marked *