काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शेरबहादुर खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। लोहनीले चार दशकदेखि निकट पारिवारिक मित्र तथा आत्मीय मार्गदर्शकका रूपमा रहेका खत्रीको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
उनले खत्रीलाई प्रखर राष्ट्रवादी चिन्तक, निष्ठावान राष्ट्रवादी योद्धा तथा राप्रपा नुवाकोटको ऐतिहासिक धरोहरका रूपमा स्मरण गरेका छन्। राष्ट्रप्रतिको उहाँको निष्ठा, विचार, योगदान र व्यक्तित्व सधैँ स्मरणीय रहने लोहनीको भनाइ छ।
विशेष कारणवश आफू काठमाडौं बाहिर रहेकाले खत्रीको पार्थिव शरीरमा उपस्थित भएर श्रद्धाञ्जली अर्पण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले भौतिक रूपमा उपस्थित हुन नसके पनि आफ्नो श्रद्धा र सम्मान सदैव रहने बताएका छन्।
लोहनीले शोकसन्तप्त पुत्रहरू श्याम खत्री र सान्ता खत्रीलगायत सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । उनले मेजर खत्रीका विचार, योगदान र सम्झनाहरू कहिल्यै नमेटिने उल्लेख गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
