काठमाडौँ । तराई–मधेशमा विशेष महत्त्वका साथ मनाइने छठ पर्वले पछिल्लो समय काठमाडौं उपत्यकालाई समेत उत्सवमय बनाएको छ । छठको तेस्रो तथा मुख्य दिन शनिबार राजधानीका नदी तथा पोखरी किनारमा व्रतालु र श्रद्धालुको उल्लेख्य भीड देखिएको छ ।
थापाथलीस्थित बागमती नदी किनारदेखि कमलपोखरीसम्म छठको उल्लास छाएको छ। व्रतालुहरू साँझपख जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठी माताको पूजा आराधनामा सहभागी भएका छन् ।
छठ पूजाका लागि काठमाडौंका विभिन्न जलाशयलाई आकर्षक ढंगले सजाइएको थियो। विशेषगरी कमलपोखरी क्षेत्र फूलमाला र रंगीचंगी बत्तीले सिँगारिँदा साँझको दृश्य थप मनमोहक बनेको थियो।
रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा तराई–मधेशबाट काठमाडौं आएर बसोबास गर्दै आएका समुदायले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक परम्परालाई राजधानीमा पनि निरन्तरता दिएका छन्। त्यसैले पछिल्ला वर्षहरूमा काठमाडौंमा छठ पर्वको आकर्षण र सहभागिता बढ्दै गएको छ।
छठका अवसरमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, दीर्घायु र सुस्वास्थ्यको कामना गरेका छन्। तराई–मधेशका विभिन्न जिल्लामा पनि नदी, पोखरी र तलाउका घाटहरूमा भक्तजनको बाक्लो उपस्थिति रह्यो।चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरूले व्रत समापन गर्नेछन्।


