चीनमा विद्युतीय विमानको पहिलो मानवसहित परीक्षण उडान सफल

बेइजिङ । चीनमा स्वदेशमै विकास गरिएको १० मेट्रिक टन क्षमताको विद्युतीय व्यावसायिक विमान ‘सीई–२५ए’ले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

चीनको सान्दोङ प्रान्तस्थित बिन्झोउमा शनिबार विमानको पहिलो परीक्षण उडान गरिएको हो। कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)ले विकास गरेको उक्त विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए।

परीक्षण उडान ५७ मिनेट ४६ सेकेन्डसम्म चलेको थियो। यसमध्ये विमान १६ मिनेट ३८ सेकेन्ड आकाशमा रहेको थियो भने उक्त अवधिमा ६०.४ किलोमिटर दूरी तय गरेको थियो।

कोम्याकका अनुसार परीक्षणका क्रममा विमानले सामान्य रूपमा उडान गरेको र सबै परीक्षण परिणाम अपेक्षाअनुसार रहेका छन्।
सीई–२५ए कोम्याकले विकास गरेको पहिलो विद्युतीय व्यावसायिक विमान हो। यसले दुई सहरबीचको छोटो दूरीको व्यावसायिक उडानमा १९ जना यात्रु बोक्न सक्नेछ।

विमानको अधिकतम उडान भार १० मेट्रिक टन रहेको छ। यसले प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उडान गर्न सक्नेछ भने २ हजार ४०० मिटर उचाइसम्म पुग्न र एक पटकमा ४०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छ। विमानको पखेटामा जडान गरिएको वितरित विद्युतीय डक्टेड–फ्यान प्रविधिमा आधारित प्रणोदन प्रणालीमार्फत यसलाई सञ्चालन गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *