एनपीएल : काठमाडौंलाई हराउँदै पोखराको सुखद अन्त्य

काठमाडौं  । पोखरा एभेन्जर्सले जितसहित तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को अन्त्य गरेको छ । आइतबार राति सम्पन्न लिगचरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै पोखराले प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

जितको लागि २ सय २५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १९.५ ओभरमा अलआउट हुँदै १ सय ६९ रनमात्र बनाउन सक्यो । काठमाडौंको लागी सहिल पटेलले सर्वाधिक ३४ रन बनाउँदा सोनु देवकोटाले २९, विलियम बोसिस्टोले २६ र जहान्दद खानले २४ रनको योगदान गरेपनि जितको लागि पर्याप्त बन्न सकेन ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । पोखराको लागि युवराज सम्रा र कुशल भुर्तेलले शानदार अर्धसतक बनाए । सतक बनाउनबाट एक रनले चुकेका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए । यस्तै सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन बनाए । कप्तान करुनारात्नेले १९, अर्जुन कुमालले ५ र धनन्जय लक्षणले नट आउट २  रन बनाए  ।

काठमाडौंको लागि करण केसीले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिँदा  जहान्दद खानले एक विकेट लिए ।

जितसँगै पोखराले ७ खेलबाट ४ अंक जोड्दै सातौँ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्दा काठमाडौं ७ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

यससँगै एनपीएलको तेस्रो संस्करणको प्लेअफ समीकरण पूरा भएको छ । अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्स तथा इलिमिनेटरमा काठमाडौं र चितवन राइनोज भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *