काठमाडौं । कुशल भुर्तेल सतकबाट एक रनले चुकेको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा पोखराले काठमाडौंलाई २ सय २५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो । पोखराको लागि युवराज सम्रा र कुशल भुर्तेलले शानदार अर्धसतक बनाए । सतक बनाउनबाट एक रनले चुकेका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए । यस्तै सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन बनाए । कप्तान करुनारात्नेले १९, अर्जुन कुमालले ५ र धनन्जय लक्षणले नट आउट २ रन बनाए ।
काठमाडौंको लागि करण केसीले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिँदा जहान्दद खानले एक विकेट लिए । अब काठमाडौंले जवाफी ब्याटिङ गर्नेछ ।
