काठमाडौं । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र ताल्चास्थित बी.सु. गार्डबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जनाको टोली उद्धारका लागि खटिएको थियो । जिपमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
